शुन्य समयमा अधिकारीले भनेः बजार अनुगमन गरेर कृत्रिम अभाव गराउनेलाई कारबाही गरियोस


काठमाडौ, ३१ जेठ । प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल बिहीवार पनि जारी छ ।
विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन ।
यसैबीच नेकपाका सांसद खगराज अधिकारीले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको बताए । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएको भने पनि सिण्डिकेट कायमै रहेको भन्दै प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका हुन ।
नेकपाकै अर्का सांसद् अमनलाल मोदीले बजेट भाषण लगत्तै दैनिक उपभोग्यवस्तुको मूल्य आकासिएको बताए । उनले बजार अनुगमन गरेर मूल्य बढाउनेलाई कारबाही गर्न माग गरे ।
नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले भने सरकार र व्यापारीको मिलेमतोमा बजार भाउ बढाइएको आरोप लगाए ।
सांसदहरुले शून्य समयमा उठाएका विषयको सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्