श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने विरुद्ध लाग्न पत्रकारलाई गृहमन्त्री थापाकोे आग्रह


चितवन, १७ जेठ । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका छन्।
नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहीबार चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे।

“भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन, तिनीहरूको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन” गृहमन्त्री थापाले भने।

लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उनले फोटो पत्रकारलाई ध्यानाकर्षण गराए।

देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उनले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पुँजीपति विरुद्ध क्रियाशील हुन पत्रकारलाई आग्रह गरे।

विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उनले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याए। नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गरे। उनले तिनीहरूको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गरे।

पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो। पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गरे। पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गरे।

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरेका थिए। समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्