१० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या, १६ घण्टामै हत्यारा पक्राउ


पोखरा, १० असोज । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक सुनार लाई बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । यससँगै कास्की प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक ओमबहादुर रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टि गरे ।
‘बालिकाको हत्यापछि बलात्कार भएको देखियो, त्यस लगत्तैै हामी त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएका छौं’ एसपी रानाले नयाँ पत्रिकासंग भने । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार घटनापछि सुरुमा शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । तीन जनामा बढी शंका लागेकोमा त्यस मध्य २७ वर्षीय कुशुम पौडेलले आफ्नो अपराध प्रहरी समक्ष स्वीकार गरेका हुन् । यद्यपी कास्की प्रहरी प्रमुख रानाले सबै कुरा अहिले नभई पत्रकार भेटघाट पछि मात्र सार्वजनिक गर्ने बताएका छन् ।

मंगलबार विहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्की नेतृत्वको टोली सुरुदेखि नै अनुसन्धानमा जुटेको थियो । विहान ८ बजे स्थानीयले खबर गरे बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धान पश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएको हो । सोमबार साँझदेखि हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको बलात्कार पछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले जनाएको छ ।

यसरी भएको थियो हत्या
प्रहरी स्रोतका अनुसार श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेका छन् । पौडेल उक्त दिन रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए । सुरुमा श्रेयालाई देखेर पौडेलले बोलाए । छिमेकीले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् । त्यसपछि पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए । त्यति गर्दा बेहोस् बनेकी बालिकालाई उनले करणी गरे र थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरे ।नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्