संक्रमण फैलाउने कारखाना बन्दै क्वारेन्टाइन


जनकपुरधाम, ३ असार । कोरोना संक्रमणबाट जोगिन र फैलिन नदिन देशभर दुई लाख ५३ हजार तीन सय २२ बेड क्षमताका क्वारेन्टाइन बनाइएका छन् ।

९० प्रतिशतभन्दा धेरै क्वारेन्टाइन मापदण्डविपरीत निर्माण गरिएका छन् । मंगलबारसम्म एक लाख ३३ हजार ९ जना बसेका छन् । तर, अधिकांश क्वारेन्टाइन भद्रगोल छन्, जहाँ न्यूनतम पूर्वाधार समेत छैनन् । एउटै ओछ्यानमा तीन–चार जनासम्मलाई सुताइएको छ । सबैले एउटै शौचालय र धारा प्रयोग गर्नुपर्छ ।

कतिपय ठाउँमा त आरडिटी परीक्षण पोजेटिभ देखिएका र अरूलाई सँगै राखिएको छ । सबैभन्दा डरलाग्दो त क्वारेन्टाइन नै संक्रमण फैलाउने कारखाना बनिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ११ हजार दुई सय ८३, प्रदेश २ मा २९ हजार नौ सय ३५, बागमतीमा १० हजार ६ सय ८६, गण्डकीमा १० हजार ६ सय ८०, प्रदेश ५ मा ६३ हजार नौ सय आठ, कर्णालीमा ४४ हजार पाँच सय १३ र सुदूरपश्चिम प्रदेशमा ८२ हजार तीन सय १७ बेड क्षमताका क्वारेन्टाइन छन् । अधिकांश क्वारेन्टाइन नाम मात्रका छन् ।

एउटै कोठामा कोचाकोच, स्यानिटाइजर समेत छैन

झापामा अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत बनाइएका छन् । विद्यालयमा बनाइएका क्वारेन्टाइनमा एउटै कोठामा कोचाकोच गरेर मान्छे राखिएका छन् । ‘एउटै कोठामा कोचाकोच छ, उही ओछ्यान छ ।

एक जनामा संक्रमण देखिए सबैलाई सर्ने त्रास छ,’ गौरीगन्ज–६ स्थित खजुरगाछी माविको क्वारेन्टाइनमा बसिरहेका लक्ष्मीप्रसाद ताजपुरियाले भने । उनीसँगै एउटै कोठामा सात जना बसेका छन् । जसमध्ये चारजनालाई कोरोना देखिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनीसहित तीन जना भने अझै त्यही कोठा र ओछ्यानमा सुत्दै आएका छन् ।

स्थानीय सरकारले कोठामा स्यानिटाइजर समेत नछर्केको ताजपुरियाले बताए । ‘कोठा सारिदिनू या विषादी छर्केर सफा गरिदिनू भन्यौँ, कसैले मानेनन् । हामी आफैले पानी लगाएर कोठा सफा गर्‍यौँ । कोरोना सर्छ कि भन्ने त्रासमा बस्नुपरेको छ,’ उनले भने ।

उनको सँगैको कोठामा सातजना बसेका छन् । सबैले प्रयोग गर्ने शौचालय र नुहाउने ट्युबेल पनि एउटै छ । ‘स्यानिटाइजर माग्दा किन चाहियो भन्नु हुन्छ, साबुन पनि एउटा मात्र छ,’ क्वारेन्टाइनमा रहेका बुद्धनारायण गनगाईंले भने ।

कोरोबारीस्थित क्वारेन्टाइनमा रहेका दिलीपकुमार राउतले चर्को गर्मीमा झुलसमेत नदिइएको बताए । । ‘यस्तो गर्मी छ, झुल दिएको छैन । रातभर लामखुट्टेले टोकेर सुत्नै पाइँदैन,’ उनले भने, ‘हामीलाई अपराधीलाई जस्तै राखिएको छ ।’

पेटभरि खान पनि नपाएको उनको गुनासो छ । गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्थानीय तहको स्रोत र साधनले भ्याएसम्म व्यवस्थापन गरेको बताए  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उत्तरी क्षेत्रमा सेनाले व्यवस्थापन गरेका क्वारेन्टाइन केही व्यवस्थित भए पनि दक्षिण क्षेत्रका क्वारेन्टाइन अस्तव्यस्त छन् । झापामा रहेका ३५ क्वारेन्टाइनमा एक हजार ५० जना बसिरहेका छन् ।

क्वारेन्टाइनका कोठा भरिए, बरन्डामा वास

भारतबाट फर्कनेको घुइँचो नरोकिँदा सुदूरपश्चिमका क्वारेन्टाइन अस्तव्यस्त बनेका छन् । एउटै कोठामा १०–१५ जनासम्म राखिएको छ । उनीहरूले प्रयोग गर्ने शौचालय र धारा एउटै छ । जसले गर्दा संक्रमण नियन्त्रणभन्दा फैलने जोखिम बढेको छ ।

प्रदेश राजधानी धनगढीकै क्वारेन्टाइनहरू अव्यवस्थित छन् । तराईको चर्को गर्मीमा अधिकांश क्वारेन्टाइनमा पंखाको व्यवस्था छैन । खानेपानी र शौचालय अभाव छ । क्वारेन्टाइनमा बसेकालाई खाना र खाजाको व्यवस्था हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिका–१ का सुरज चौधरी तीन दिनदेखि धनगढी मुख्यबजारसँगै जोडिएको त्रिनगर माविको बरन्डामै सुतिरहेका छन् । बेन्च लगाएर बनाएको एउटै खाटमा उनीसहित तीनै जना सँगै सुत्छन् । ‘बरन्डामा पंखा छैन । बत्ती नहुँदा राति खाना पनि अँध्यारोमै खानुपर्छ,’ उनले भने ।

उनीहरू भारतको महाराष्ट्रबाट फर्केका हुन् । ‘त्रिनगर भन्सार नाकामा पुगेपछि टिपरमा राखेर यो विद्यालयमा छाडिएको हो । त्यसपछि कोही पनि फर्केर आएनन्,’ सुरजले भने, ‘कोठाहरू सबै भरिएका रहेछन्, बेन्च लगाएर बरन्डामै सुत्छौँ ।’ राति लामखुट्टेले सताउन थालेपछि घरबाट झुल मगाएर लगाउन थालेको उनले बताए । बरन्डामा बिहानै घाम पर्ने भएकाले उनीहरू दिनभर छाया पर्ने विद्यालयको गेटमुनि गएर बस्छन् ।

क्वारेन्टाइनमा बसेकाले घरबाटै खाना मगाएर खाने गरेका छन् । विद्यालयका दुईवटा धारा र दुई शौचालय साझा रूपमा प्रयोग गर्छन् । शौचालय कम हुँदा शौच गर्न बिहान पालो पर्खनुपर्ने चौधरीले बताए । क्वारेन्टाइनमा एउटै कोठामा ८–१० जनालाई राख्ने गरिएको छ ।

धनगढी–१२ स्थित सिद्धनाथ माविको क्वारेन्टाइनमा बसिरहेका धनगढी जुगेडाका राकेश लुहारले एकजना संक्रमित भए सबैलाई सर्ने अवस्था रहेको बताए । ‘धारा, शौचालय एउटै प्रयोग गर्नुपर्छ । एउटै कोठामा आठजना रहेकाले व्यक्तिगत दूरी कायम गर्न सकिँदैन,’ उनले भने, ‘त्रासैत्रासले क्वारेन्टाइनमा बसिरहेका छौँ ।’

यो क्वारेन्टाइनमा बसिरहेका चार जनामा आरडिटी पोजेटिभ देखिएको छ । उनीहरूसँगै अन्य ३६ जनाले प्रयोग गर्ने शौचालय र धारा पनि एउटै छ । पिसिआर जाँच नहुँदा आफूहरू त्रसित भएको आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले बताए ।

भारतबाट फर्कनेको घुइँचो नरोकिएपछि क्वारेन्टाइनमा चाप बढ्दो छ । क्वारेन्टाइनमा सुरक्षाका उपाय अवलम्बन गर्न नसकिए समुदायस्तरमा संक्रमण फैलने अवस्था रहेको फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

‘धनुषाका क्वारेन्टाइन कालकोठरी जस्ता’

भारतबाट फर्किनेको चाप बढ्न थालेपछि धनुषाका क्वारेन्टाइनको अवस्था भद्रगोल बन्दै गएको छ । सबैला नगरपालिका–१२ स्थित फकिर चन्द माविमा सञ्चालित क्वारेन्टाइनमा बेड नपाएर मान्छेहरू भुइँमै सुतिरहेका छन् । क्वारेन्टाइन कालकोठरी जस्तो लाग्न थालेको उनीहरूको भनाइ छ ।

‘गर्मीयाम भएकाले लामखुट्टेको महामारी छ, झुल छैन, पंखा छैन, हरेक रात कष्टपूर्ण ढंगले बितिरहेका छन्,’ क्वारेन्टाइनमा बसिरहेका एक जनाले भने, ‘कसलाई आफ्नो पीडा सुनाउने ? न यहाँ कोही बाहिरका मान्छे आउँछन्, न मेयर–उपमेयर आउँछन् । भगवानको सहारा बाहेक हाम्रा लागि कोही छैन ।’

सबैला नगरपालिकाले पाँच वटा क्वारेन्टाइन सञ्चालन गरेको छ । सबै क्वारेन्टाइनको अवस्था उस्तै छ । सुरुमा केही व्यक्तिका लागि बेडको व्यवस्था गरिएको थियो, संख्या थपिँदै गएपछि नगरपालिकाले भुइँमै प्लास्टिकको फम र ओछ्यान दिएर सुत्ने व्यवस्था गरेको छ ।

शौचालय नहुँदा जंगलतिर जानुपर्छ । खानाको व्यवस्था नभएपछि तिनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा रहेकाले गत सोमबार प्रदर्शन गरेका थिए । यहाँ बसेकाहरू पनि धेरै भुइँमै सुत्न बाध्य छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्