संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि योगेशले स्थापना गरे दुई अक्षय कोष

काठमाडौँ, पुस २३ । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं ताप्लेजुङ जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित योगेश भट्टराईले आफू निर्वाचित जिल्लाको संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि योगदान गर्ने घोषणा गरेका छन् । निर्वाचनका बेला सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
भट्टराईले त्यसका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापनाको घोषणा गरेका हुन् । सो कोषमार्फत ताप्लेजुङमा संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने जानकारी पनि दिए । संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राख्ने पनि उनले जानकारी दिए । जिल्लाको गीत–संगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।
त्यसैगरी उनले सोही कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरे । जिल्लास्थित पत्रकारसँग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।
पत्रकारितालाई व्यवसायिक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम विस्तारै बढाउने योजना छ । कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने बताए ।
ताप्लेजुङ जिल्लामा विकासका हजारौं संभावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, उद्यमी, विद्यार्थीलगायतकोउपस्थिति थियो ।