हामी प्रधानमन्त्रीको ‘म्यूजिकल चियर’ खेलमा कति लाग्ने ?


८ साउन । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्को विश्वास छैन भनी प्रस्तुत गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिएका छन् ।

व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रसहितका दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्को विश्वास छैन भनी शुक्रबार अविश्वासको प्रस्ताव प्रस्तुत गरेका थिए । उनले अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सरकारबाट बाहिरिने माओवादीको निर्णयलाई दुभाग्यपूर्ण भनेका छन् । उनले प्रधानमन्त्रीको ‘म्यूजिकल चियर’ खेलमा नलाग्न पनि सबैसँग आग्रह गरे ।

उनले छलफलमा सहभागी हुँदै अहिले राष्ट्रिय सहमतिको आवश्यकता भएको समेत दाबी गरे । राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्ने बेलामा माओवादीले गलत गरेको उनको भनाई थियो ।

त्यसैगरी नेपालले हरेक पार्टीमा गुटबन्धी हावी भएको भन्दै एमाले पनि त्यसबाट अछुतो रहन नसकेको बताए । ‘हामी कसैले पनि राष्ट्रहितमा गरेका कामको पोजेटिभ मूल्यांकन र राष्टघाती कामको आलोचना गरौं। समग्रतामा अति धेरै राजनीतिकरण र गुटकरण भएको छ,’ उनले भने, ‘अहिलेको सरकारले पनि र विगतमा पनि गुटकरणका आधारमा राजनीतिक नियुक्ति भएको छ। यसबाट माथि उठी नयाँ आधारमा अघि बढ्नु परेको छ।’

नेपालले राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीतिदेखि राष्ट्रिय विकास नीतिमा पनि साझा सहमतिको दस्तावेज बनाउन नसकेको भन्दै त्यसका लागि सबै दलको सहमति आबश्यक भएको बताए ।

उनले संसद्मा हुने घोचपेचको पनि आलोचना गरे । ‘हामीले कुनै कुरा बोल्दा अरुलाई घोच्ने काम नगरौं। हिजो सुवास नेम्वाङले बढो मिठो कुराले पनि कतिपयलाई पनि घोच्यो होला,’ उनले भने, ‘तर संविधानको पालना र यसलाई कार्यान्वयन भएन भने समस्यामा पर्छौं, मैले सुनेको छु संवैधानिक संकट निम्त्याए ठूलो संकट आउने छ।’

उनले अनेक पक्षले संविधानको उपलब्धि उल्टाउनेतर्फ लागेको अवस्थामा सबै सजग हुनुपर्नेमा पनि जोड दिए । ‘एमाओवादीले यो अविश्वासको प्रस्ताव दर्ता गर्न हतार ग¥यो। हामीले कांग्रेसलाई पनि विश्वासमा लिन सकिन्थ्यो। देश नै संकटमा प¥यो भनी हतारमा दर्ता भयो,’ उनले भने, ‘हामी देशको विकासमा सहयोगी हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्