संविधान असफल पारेर लोकमान आफैँ प्रधानमन्त्री बन्न चाहन्थेः योगेश भट्टराई


१९ कात्तिक । नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सपनालाई एमालेले तुहाएको दाबी गरेका छन् ।

‘कार्की देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका थिए,’ प्रेस चौतारी नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले ल्याएको महाअभियोग प्रस्तावले उनको प्रधानमन्त्री बन्ने सपना  तुहियो । लोकमानलाई निलम्बन नगरेको भए उनी संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री बन्ने खेलमा लागेका थिए ।’

भट्टराईले संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएको भन्दै दुबै मुद्दालाई नमिसाउन सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र र कांग्रेससँग आग्रहसमेत गरे ।

एमालेको सहयोग/सर्मथन बिना संंविधान संशोधन सम्भव नभएको भन्दै संविधान संशोधनबारे माओवादी केन्द्र र कांग्रेसले एमालेसँग कुनै छलफल नगरेको पनि उनले आरोप लगाए । उनले संविधान संशोधनको विषयमा एमाले मधेसवादी दलसँग छलफल गर्न तयार रहेको पनि बताए । कार्यक्रममा भट्टराईले एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्