संविधान असफल बनाउने कोसिसः एमाले नेता गौतम


७ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन् । आइतबार बुटबल पुगेका नेता गौतमले प्रेस चौतारी रुपन्देहीद्वारा मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको बताए ।

तर त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता उनले व्यक्त गरे । उनले भने– ‘हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ ।’ नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनैपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाभियोग प्रस्तावको बाटो लिनुपरेको बताउँदै नेता गौतमले भने– ‘राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो ।’

प्रतिक्रिया दिनुहोस्