संविधान कार्यानवयनका लागि सरकारलाई सहयोग गर्नुपर्छः नेता बादल


२० भदौ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले संविधान कार्यान्वयनका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नेकपा माओवादी केन्द्र जिल्ला सङ्गठन समिति सिन्धुलीले आयोजना गरेको शेरमान कुँवर र मोहनचन्द्र गौतमको १२ औ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिइने, पुनःनिर्माणको काम प्रभावकारीरुपमा अगाडि बढाउने र जनताको अपेक्षाअनुसार काम गर्ने नीति अगाडि बढाएको बताए ।

नेता थापाले विगतका कमीकमजोरीलाई सुधार्दै जनताको पक्षमा काम गर्ने र विगतमा अधुरा रहेका परिवर्तनका एजेन्डालाई पुरा गर्ने अवसर पुनः माओवादी केन्द्रलाई आइपरेकाले अब त्यस्ता कार्य पुरा गर्न सरकार र आफ्नो दल अग्रसर हुने बताए ।

सो अवसरमा उनले झन्डै १२ बर्ष अघि राज्य पक्षबाट मारिएका कुँवरको छोरी निशा कुँवर र गौतमका श्रीमती कृष्णमाया गौतमलाई सम्मान गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु हरिबोल गजुरेल, कमल दाहाल र सिन्धुली जिल्ला इन्चार्ज विशाललाल दनुवार, लगायतले सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रले विगतका गल्तीलाई सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्