संविधान दिवस देशभर मनार्इँदै, सर्वसाधारणलाई पनि सैनिकमञ्च टुँडीखेल खुल्ला


काठमाडौ,३ असोज । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर भब्यताकासाथ संविधान दिवस मनाइँदैछ ।

संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टँुडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी। प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा विभिन्न कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन दिईने कार्यक्रम पनि रहेको छ । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । गत वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र प्रवेश पाउने समारोहमा यस वर्ष सर्वसाधारणको लागि पनि ब्यवस्था गरिएको छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी, पिउने पानी, प्रांथमिक उपचार समेत ब्यवस्था गरिएको कामनपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्