संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय गर्छुः प्रधानमन्त्री प्रचण्ड


१७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताएका छन् ।

संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताए ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै भन्दै थारु, मधेसी र मगर समुदायको क्षेत्र  नमिलेको बताए । उनले त्यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी राख्ने आश्वासन दिए ।

नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले संविधानमा केही सकारात्मक विषयहरु रहेको भए पनि पूर्ण नभएको भन्दै संशोधनमार्फत भएपनि पछाडि पारिएका क्षेत्रको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

नेकपा माओवादी केन्द्रका नेता सुरेश आलेमगरले सङ्घीय संरचनामा नेपालका आदिवासी जनजाति समुदायको माग र भावनालाई सम्बोधन गर्नुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्