संविधान संशोधनका लागि विदेशी गुहार्नु लज्जास्पदः माधव नेपाल


२२ भदौ । छिमेकी चीनको भ्रमणबाट फर्किनासाथ गृहजिल्ला रौतहट पुगेका नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको संविधान संशोधनका लागि विदेशी गुहार्नु लाजमर्दो हुने बताएका छन् ।

जापान सरकारको सहयोगमा गंगा पिपरामा बनेको नेपाल–जापान मैत्री सामुदायिक भवनको उद्घाटनमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘सबभन्दा पहिला सबैले मुलुकको संविधान स्वीकार्नुपर्छ । यदि त्यसमा केही चित्त नबुझेको कुरा छन् भने छलफल गर्न सकिन्छ, संशोधन गर्न सकिन्छ । तर, त्यसका लागि विदेशी गुहार्नु लाजमर्दो हुन्छ ।’ घरपरिवारमा झगडा भएमा घरभित्रै मिलाउँदा अरुले दख्खल दिन नसके जस्तै मुलुकमा समस्या आएमा देशभित्रकै शक्तिहरु मिलेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । बरिष्ठ नेता नेपालको भनाइ थियो– ‘देश पनि त्यस्तै हो । समस्या आउँछन्, तिनलाई समाधान गर्न सकिन्छ । वार्ताका क्रममा सबै मिलेर समाधान खोज्न सकिन्छ । त्यो काम हामी आफैँले गर्नुपर्छ ।’

14249080_1206917319372637_2100380447_nहालै चीनबाट फर्किएका पूर्वप्रधानमन्त्री नेपालले चिनियाँ राष्ट्रपति सी जिङपिङको प्रस्तावित नेपाल भ्रमण रद्द भएको सुन्दा आफूलाई दुःख लागेको बताए । उनले भने, ‘दुई देशका बीचमा उच्चस्तरका भ्रमणहरु हुनुपर्छ । राष्ट्रपति सी नेपाल आउँदा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुन्थ्यो । यदि उहाँ आउनुभएन भने नेपालका लागि घाटा हुन्छ ।’ त्यसैगरी, भारत र नेपालका राष्ट्रपतिहरुले पनि एक–अर्का मुलुकको भ्रमण गर्नुपर्नेमा उनले जोड दिए ।

14247561_1206917996039236_209683557_oविकास निर्माणका प्रश्नमा आफूले कहिल्यै विभेद नगर्ने र पार्टीभन्दा माथि उठेर काम गर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालको विकासका लागि मधेसको विकास पूर्वसर्त जस्तै रहेको बताए । उनले भने, ‘आउनूस्, हातेमालो गरौँ र आ–आफ्नो ठाउँलाई माथि उठाऔँ । देश विकास हुने नै यसैगरी हो ।’

14233672_1206917432705959_807366909_oपूर्वप्रधानमन्त्री नेपालको पहलमा जापान सरकारले १ करोड २० लाखको लागतमा उक्त सामुदायिक भवन बनाइदिएको हो । त्यसमा चार सय जना अट्ने ठूलो सभाहल, ५० जना अट्ने एउटा बैठक कक्ष र २५ जना अट्ने अर्को बैठक कक्ष छन् । रौतहट– १ का सांसद समेत रहेका नेता नेपालमा उक्त क्षेत्रमा सभा, सम्मेलन र बैठक गर्न समेत सामुदायिक भवन नभएपछि उक्त भवनका लागि पहल गरेका थिए ।

उद्घाटन कार्यक्रमा नेपालका लागि जापानी राजदूत मासाही ओगावा, सांसदहरु डा. बंशीधर मिश्र, रामकुमार भट्टराई, लालबाबु यादव, हरिचरण साह, पूर्वसांसद सरला यादव लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्