संविधान संशोधनसम्बन्धी विधेयकविरुद्धको आन्दोलन अझ सशक्त र प्रभावकारी बनाउने एमाले निर्णय


३० मंसिर  । नेकपा (एमाले) ले संविधान संशोधनसम्बन्धी विधेयक विरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकोमा पनि जोड दिएको छ
‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ,’  बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,  ‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।’ बैठकले निर्वाचनमार्फत राजनीतिक निकास निकाल्न आफ्नो दल सधैँ तत्पर रहेको समेत जनाएको छ ।
बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

बैठकले संविधान संशोधनसम्बन्धी विधेयक विरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्