संविधान संशोधन छाडेर निर्वाचनमा जानु उत्तम विकल्पः एमाले उपमहासचिव पौडेल


१९ मंसिर । नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले संविधान संशोधनभन्दा निर्वाचनमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताएका छन् । आइतबार राजधानीको एउटा अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले ९० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षरमा निर्मित संविधानको संशोधनको आवश्यकता नरहेको स्पष्ट पार्दै बताए, ‘अधिकांश जनता र सांसदको समर्थन छैन, के का लागि संविधान संशोधन गर्न खोजिएको हो ?’

टुक्र्याउन खोजिएको प्रदेश नं. ५ स्थित रुपन्देहीबाट निर्वाचित सांसदसमेत पौडेलले प्रदेश नं ५ लाई टुक्र्याएर मुलुकलाई राजनीतिक अराजकतातर्फ लैजान खोजिएको आरोप लगाउँदै ‘संशोधन प्रस्ताव पारित नहुने भएकाले’ उक्त प्रस्ताव फिर्ता लिनु नै राम्रो रहेको बताए ।

सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संशोधन प्रस्ताव जनताले नचाहेकाले यसलाई अगाडि बढाउनु आवश्यक नरहेको बताए । सांसद रायमाझीले संविधान निर्माण जस्तै संविधान संशोधनमा पनि राष्ट्रिय खाँचो औँल्याउँदै बताए, ‘विवाद निम्त्याउने गरी संविधान संशोधन गरे मुलुक द्वन्द्वतिर धकेलिन्छ ।’

रायमाझीले मधेसी दलले संविधान संशोधनलाई आत्मसात् नगरेकाले संविधान संशोधनलाई थाँती राखेर वा फिर्ता लिएर निर्वाचनमा जानु आवश्यक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्