संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउँछः मधेसी मोर्चा


१४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले  संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको हो । मोर्चा संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने अडानमा छ ।

बैठक बारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष विशेषचन्द्र लालले  पनि संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भए पनि मोर्चाका माग सम्बोधन दाबी गरे ।  त्यसपछि आफूहरु पनि निर्वाचनमा जानसक्ने बताए ।

बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको थियो ।  ‘मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ,’ उनले भने, ‘त्यसका लागि हामीले लचकता अपनाएका छौँ ।’

मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्म विपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रका बारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्