संविधान संशोधन प्रस्तावका विरुद्ध पुस २२ गते राजधानीमा बृहद् प्रदर्शन, यस्तो छ एमालेको तयारी


७ पुस ।  प्रमुख प्र्र्रतिपक्षी दल नेकपा (एमाले) सहितका ९ दलले पुस २२ गते राजधानीमा बृहद् प्रदर्शन गर्ने भएका छन् । एमालेले विज्ञप्ति नै निकालेर त्यो जानकारी दिएको हो ।

‘सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको जनभावना र संविधानविपरीतको संविधान संशोधन प्रस्तावका विरुद्ध नौ राजनीतिक दलले आगामी पुस २२ गते राजधानीमा आयोजना गर्न लागेको बृहद् प्रदर्शनका लागि एमालेले आफ्नो तर्फबाट तयारी सुरु गरेको छ,’ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा आज महासचिव कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयका लागि कार्यदल गठन गरी काम सुरु गरिएको छ ।’

कार्यदलको बिहीबार बसेको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसंगठन र सम्पर्क मञ्चहरुलाई उक्त दिन आयोजना हुने प्रदर्शनमा सहभागी हुनका लागि निर्देशित गर्दै आ–आफ्ना कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न आह्वान गरेको छ ।

कार्यदलमा केन्द्रीय सचिवालयका सदस्यहरु– उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल रहेको पनि एमालेले जानकारी दिएको छ ।

त्यसैगरी तीन नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङ पनि कार्यदलमा छन् ।

उक्त दिन राजधानीमा रहेका पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई अनिवार्य रुपमा प्रदर्शनमा भाग लिन लगाउने गरी कार्ययोजना बनाउने बैठकले निर्णय गरेको छ ।

आजै मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा बसेको मोर्चा संगठनहरुको बैठकले कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ लाग्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवैधानिक प्रावधानविपरीत ल्याइएको संशोधन प्रस्तावका विरुद्धमा ऐक्वबद्धता जारी गर्नका लागि उक्त प्रदर्शनमा सहभागी भइदिनु हुन नेकपा (एमाले) आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्