संविधान संशोधन विरुद्ध आज पाल्पा बन्द, प्यूठान र रोल्पामा पनि उस्तै आक्रोश


१६ र्मसिर । जनभावना विपरीत ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेपछि पूरै प्रदेश नं ५ बुधबारबाट अशान्त देखिएको छ । सोही क्रममा बिहीबार असन्तुष्ट रहेका पाल्पाका बासिन्दाहरुले पाल्पा बन्दको आव्हान गरेका छन् । ५ नम्बर प्रदेशबाट अलग्याएर पाल्पालाई प्रदेश नं ४ मा राखेको विरोधस्वरुप जिल्ला बन्द गरिएको हो ।

पाल्पा बन्दमा विपक्षी एमाले र सत्तारुढ माओवादी र कांग्रेसका कार्यकर्ताहरु पनि उत्रिएका छन् । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै नेपाल तरुण दलका सभापति मेजरसिंह केसी, युवा सङ्घ नेपालका करुणा काफ्ले, अखिल नेपाल युवक सङ्घ पाल्पाका प्रतिनिधि लक्ष्मण गौतम, नेपाल विद्यार्थी सङ्घका सभापति कृष्णबहादुर आले, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष प्रेम बगाले, अखिल छैटौँका अध्यक्ष पुरन पोखरेल, त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति हरिबोल भट्टराईद्वारा संयुक्त रुपमा विज्ञप्ति निकालेर बिहीबार पाल्पा बन्द गरिएको हो ।

सरकारले मङ्गलबार संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गराएको मस्यौदामा प्रदेश नं ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रोल्पा र रुकुमलाई प्रदेश नं ४ मा राख्न प्रस्ताव गरी सीमाङ्कन हेरफेर गरेको विरुद्धमा पाल्पाका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, यातायातका साधन बिहानैदेखि ठप्प छन् ।

यसैगरी संशोधनको विरोधमा प्यूठान र रोल्पामा पनि बिहीबार बिहानैदेखि संयुक्त प्रदर्शन सुरु गरिएको छ । ती दुवै जिल्लामा बिहानैदेखि प्रदर्शन सुरु भएको हो । दिउँसो दुवै जिल्लाको सिमाना चतुर्भुजमा हुने बृहत् प्रदर्शन अगाडि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा प्रदर्शन सुरु गरिएको छ ।

प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत पहाडी जिल्लालाई तराईसँग अलग बनाउँदै अव्यावहारिक कार्य गरेको भन्दै संसद्मा दर्ता गरेको प्रदेश विभाजन प्रस्ताव तत्काल फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने प्यूठान–रोल्पा सङ्घर्ष समितिका संयोजक मुक्तिप्रसाद शर्माले बताएका छन् । दुवै जिल्लाले बिहीबार दिउँसो संयुक्त प्रदर्शनीपछि थप आन्दोलनको तयारी गर्ने बताएका छन् ।

जिल्लाका राजनीतिक दल एक ठाउँमा आएको भन्दै नेपाली काँग्रेसका जिल्ला सभापति अमरप्रसाद भण्डारीले सरकार पक्ष र प्रतिपक्ष दुवै दलले संयुक्त रुपमा संशोधनको विरोध गरेको बताए । रोल्पासँगै छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पासँग पनि समन्वय भइरहेको सङ्घर्ष समितिले जनाएको छ । भोलि ५ नं प्रदेशका जिल्ला नेता तथा सांसद्को बुटवलमा विशेष भेला राखिएको नेकपा (माओवादी केन्द्र)का नेता कृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्