संविधान संशोधन विरुद्ध मतदान गर्ने कांग्रेस सांसद्को उद्घोष


२१ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौंमा बसेर संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने अभिव्यक्ति दिइरहेका छन् । तर, सोही पार्टीका एकजना सांसदले भने आफूले भने सशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन् । कांगेस सांसद अमरसिंह पुनमगरले गृहजिल्ला रोल्पा पुगेर सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित विरोधसभामा बोल्दै सांसद पुनले भने, ‘यतिबेला जनताको भावना अखण्ड ५ नम्बर प्रदेश भन्ने रहेको छ, म तिनै जनताको प्रतिनिधि कसरी जनभावना विपरीत जान मिल्छ ? आफ्नो पार्टी सम्मिलित सरकारले संशोधन प्रस्ताव ल्याएको भए पनि आफू प्रस्तावको विपक्षमा उभिने बताउँदै उनले भने, ‘मेरा लागि सांसद पद भन्दा जनता ठूलो कुरा हो ।’

मिलेर बसेका ५ नम्बर प्रदेशका जनतालाई जिस्क्याएर सरकारले गम्भीर गल्ती गरेको पुनको आरोप थियो । विरोध कार्यक्रममा पूर्वसांसदद्वय लेखनाथ आचार्य र रिमा नेपालीलगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखले जनभावना विपरित प्रदेश ५ बाट रोल्पालाई छुट्याउने कुराको विरोध गरेका थिए ।

यसअघिका कार्यक्रममा सहभागी हँुदै आएको सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले भने सोमबारको कार्यक्रमका सहभागिता जनाएन । अखण्ड ५ नम्बर प्रदेश संयुक्त सङ्घर्ष समिति, रोल्पाले जिल्लामा केन्द्रित आन्दोलनलाई इलाकास्तरमा विस्तार गर्ने जनाएको छ ।

यसैबीच, प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा गुल्मी अनिशिचतकालका लागि बन्द गरिएको छ । आन्दोलनकारीहरुले दिनहुँ सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना एक सातादेखि ठप्प छन् ।

आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने काम मंगलबार पनि जारी राखेका छन् । आन्दोलनका कारण सेवाग्राहीको उपस्थिति नहुँदा सरकारी कार्यालय दिनभर सुनसान हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्