संशोधनको प्रस्ताव परिमार्जन नभएसम्म समर्थन गर्न नसक्ने महन्थ ठाकुरको चेतावनी


७ माघ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने जिकिर गरेका छन् ।  विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेसी मोर्चाको दस प्रदेशको माग गरेको भन्दै प्रदेश बढाउनु पर्ने पनि जिकिर गरे । उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने पनि उनले स्पष्ट पारे ।

सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै उनले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने बताए ।

जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिकाको गठन हुनुपर्नेमा पनि उनले जोड दिए ।  उनले त्यसअनुरुप नभएकाले मधेसी मोर्चालाई स्थानीय तहको सम्बन्धमा आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने पनि जानकारी दिए । ‘सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न सकिन्न,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्