संशोधन प्रस्ताव अघि बढाए कडा रुपमा प्रस्तुत हुने एमालेको चेतावनी, मुठभेडमा जाने सरकारको तयारी


२१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्षसमेत निकालेको थियो ।

त्यसैगरी बैठकले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई मधेशी मोर्चाले समर्थन गर्ने, सरकारले प्रस्ताव अघि बढाउन नेतृत्व लिने पनि निर्णय गरेको छ । स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन बुझेर छिटै निर्वाचनको प्रक्रियामा अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।  बैठकमा प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने सरकारलाई संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । सर्वोच्च अदालतले समेत प्रक्रिया अघि नबढाउन भनेको भन्दै फिर्ता लिन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेका हुन् । उनले सरकारले प्रस्ताव फिर्ता नलिए र संसद्मा टेबुल गर्न खोजे आफूहरु कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्