संशोधन प्रस्ताव हामीलाई पनि चित्त बुझेको छैनः परराष्ट्रमन्त्री महत


२९ मंसिर । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले नेपालप्रति भारतले गरेको चिन्ताका बारेमा मात्रै बढी प्रचार नगर्न आग्रह गरेका छन् ।  चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।  ‘नेपालप्रतिको चासो र चिन्ता भारतले मात्र होइन, युरेपेली युनियन, चीन, अमेरिका र संयुक्त राष्ट्रसङ्घले पनि त्यतिकै लिएका छन्,’ उनले भने, ‘हामीले भारतले मात्र चासो लियो भनेर भन्नुहुँदैन ।’

उनले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई एमाले लगायतका विपक्षी दलले देश नै विखण्डनतर्फ जाने गरी अतिरञ्जिन गरेको प्रति पनि असन्तुष्टि व्यक्त गरे ।  उनले तत्कालीन लाभलाई थाँती राखेर मुलुकलाई निकास दिनका लागि कांग्रेसकोले संशोधन प्रस्तावलाई समर्थन गरेको भन्दै प्रस्तावको बचाउ गरे ।

‘चित्त नबुझ्दा नबुझ्दै पनि देशले निकास पाउँछ, मधेस आन्दोलन रोकिन्छ भनेर संशोधन प्रस्ताव पेस गरिएको हो,’ उनले भने । संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएको भन्दै मन्त्री महतले संशोधन प्रस्तावसँगै सबै दल एक हुन्छन् भन्ने अभिप्रायका साथ पेस भएको भए पनि यसको आशय उल्टाउने काम भएको आरोप पनि लगाए ।

देशलाई नै असहज हुने गरी आन्तरिक राजनीतिलाई दलीय स्वार्थमा जोडेर अतिरञ्जित गर्नु नहुने उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्