संशोधन विधेयक निःशर्त फिर्ता लिनुपर्छः एमाले सचिव विष्ट


२६ मंसिर । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको संविधान संशोधनको विधेयक राष्ट्रघाति रहेको र यसमा एमालेले कुनै पनि सहमति, सम्झौता गर्न नसक्ने हुँदा सरकारले उक्त प्रस्ताव निःशर्त फिर्ता लिनुपर्ने बताएका छन् । युवा संघ नेपाल, सिन्धुलीको आठौं अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रमुख अतिथि विष्टले यतिबेला संविधानमा व्यवस्था गरिएअनुसारका संविधान कार्यान्वयनका लागि तहगत निर्वाचनहरू सम्पन्न गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजानु पर्नेमा सरकारले आँफै विभिन्न खालका बखेडा सिर्जना गर्दै संविधान कार्यान्वयनमा भाँजो हालेको दाबी गरे ।

सो कार्यक्रममा नेकपा माओवादी–केन्द्र र नेपाली कांग्रेसले देशलाई बर्बाद पारेको भन्दै सयौं व्यक्तिहरु ती पार्टी छोडेर एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि विष्टले अविर र खादा ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडी, अर्का वैकल्पिक केन्द्रीय सदस्य कमलजंग राई दनुवार, तीन नम्बर प्रदेशका सदस्य उमा कोइराला, सिन्धुली पार्टी अध्यक्ष प्रदीप कटुवाल, युवा संघ केन्द्रीय उपाध्यक्ष दिलु पन्त, नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अमर थापामगर, मञ्चका पूर्वअध्यक्ष तारानिधि पोखरेललगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रम सुरु हुनुअघि सिन्धुलीको विभिन्न गाविस, नगरपालिकाबाट नारा, जुलुससहित सदरमुकाम सिन्धुली माडीमा हजारौंको संख्यामा युवाहरु आएका थिए । अधिवेशन दुईदिन सम्म चल्ने युवा संघका केन्द्रीय सदस्य कर्ण घिसिङले बताए । यसअघि सिन्धुली जाने क्रममा सचिव विष्टले विपि राजमार्गको खुर्कोटमा निर्मित सुनकोसी सामुदायिक हस्पिटलको निरीक्षण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्