संसदीय दलको बैठकमा प्रधानमन्त्री एक घण्टा बोले, कांग्रेस र माओवादीले झूटको खेती गरेको आरोप


३० जेठ । नेकपा माओवादी केन्द्रको अगुवाईमा कांग्रेस र संयुक्त माक्र्सवादीको समेत समर्थनमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावविरुद्ध  नेकपा (एमाले)ले डटेर सामना गर्ने भएको छ ।

बिहीबार संसद भवनको नुप्से हलमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा यस्तो निर्णय भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब एक घण्टा आफ्नो मनतव्य राखेका थिए । ‘प्रधानमन्त्रीज्युले करिब एक घण्टा बोल्नुभयो,’ एमाले सचेतक गोकुल घर्तीले प्रधानमन्त्रीको भनाई उध्रित गर्दै भने, ‘उहाँले मन्तव्यका क्रममा अविश्वासको प्रस्तावमा जे–जे कुरा उल्लेख गरिएको छ ती सबै झुट हुन् ।’ घर्तीका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा नदिने अविश्वासको प्रस्तावका विरुद्ध डटेर सामना गर्ने भनाई राखेका थिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गठबन्धन तोडेपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि ? विश्वासको मत लिन संसद् ‘फेस’ गर्ने भन्नेमा विभिन्न मत बाहिर आइरहेका बेला एमालेले दलको बैठक बोलाएको हो । प्रधानमन्त्री ओली संसद्बाटै प्रधानमन्त्री निर्वाचित भएको भन्दै छाड्दा पनि संसद् नै फेस गरेर छाड्ने मनस्थितिमा छन् ।

यता उपाध्यक्ष वामदेव गौतम लगाएतका नेता भने राजीनामा दिनुपर्ने अडानमा छन् । यद्यपि बैठकमा भने कुनै पनि सवाल जवाफ भएन । ‘प्रधानमन्त्रीले धाराप्रवाह रुपमा आफ्ना मन्तव्य राख्नुभयो,’ बैठकमा सहभागी एक सांसदले भने, ‘उहाँले करिब एक घण्टा बोलेपछि बैठक सकियो ।’

प्रतिक्रिया दिनुहोस्