विवाद सुल्झिएपछि संसद् बैठक सुरु


७ साउन । प्रमुख दलहरुबीच व्यवस्थापिका–संसद्मा छलफलको पहिलो विषय आर्थिक विधेयक वा अविश्वासको प्रस्ताव कुन हुने भन्ने विवाद सल्टिएपछि आजको बैठक सुरु भएको छ ।
बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
त्यसपछि सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन २०७३ सदन समक्ष पेस गरे ।

उक्त प्रतिवेदनमा मुलुकका विभिन्न निकायमा देखिएको आर्थिक अनुशासनहीनताले अनियमितता र भ्रष्टाचार मौलाउन गई आर्थिक सन्तुलन खलबलिएको उल्लेख गरिएको छ ।
आर्थिक प्रणाली प्रारदर्शी नहुँदा नेपालको छवि नै खस्किएको उल्लेख गर्दै सभापति शर्माले राज्यमा शासन र सुशासन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था देखिएको टिप्पणी गरे ।
आर्थिक अनियमितताका घटनामा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समितिले दिएको निर्देशनको आवश्यक पालना नभएको तथ्य पनि उनले सदनलाई जानकारी गराए ।
बैठकमा भर्खरै आर्थिक विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवाल संशोधन प्रस्ताव पेस गरेका छन् । आर्थिक विधयेकसँगै आजै सरकार विरुद्धको अविश्वासको प्रस्ताव पनि सदनमा पेस हुने कार्यसूची रहेको छ । रासस

संसद्को कार्यसूची सम्बन्धी विवाद मिल्यो संसद्को, बैठक अपराह्न ४:३०

७ साउन । व्यवस्थापिका–संसद्मा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताबीच आज भएको छलफलमा अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएको हो ।

दुवै प्रस्ताव एकै कार्यसूचीमा समावेश हुनेछन् । सहमतिअनुसार आज दिउँसो २ बजे तोकिएको संसद्को बैठक अपराह्न ४ः३० मा बस्ने र त्यसमा बजेट आश्रित विधेयकमाथिको छलफल हुने वार्तामा सहभागी उपप्रधानमन्त्री तथा नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यसूचीमा समझदारी भएको बताउँदै ती विधेयकलाई टुङ्गो लागेपछि अविश्वासको प्रस्तावमा आजै छलफल हुने जानकारी दिनुभयो ।

सभामुख ओनसरी घर्तीले अन्तर्राष्ट्रिय सम्मेलन (संसद् भवन)केन्द्रमा शीर्ष नेताको बैठक आह्वान गरेकी थिइन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए । सो बमोजिम आर्थिक विधेयक, २०७३ सहित तीन विधेयक टुङ्गो गर्ने लगाइएपछि अविश्वासको प्रस्तावमा आज छलफल हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्