संसद् विघटन गर्ने चलखेल सुरुः प्रधानमन्त्री ओली


१४ साउन । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एमालेकै नेता–कार्यकर्ताले मनमुटाव सिर्जना गर्न सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका बेला दुई नेता भने शुक्रबार एकै मञ्चमा देखिएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल, चीन, भारतसम्बन्ध विषयक विशेष अन्तरक्रिया’ कार्यक्रममा ती दुई नेता एकै मञ्चमा उपस्थित भएका हुन् । प्रमुख अतिथितिका रुपमा ओली र प्रमुख वक्ताकारुपमा नेपाल त्यहाँ उपस्थिति भएका थिए ।

कार्यक्रममा दुबै नेताले नेपालले छिमेकी देश चीन र भारतसँग समधुर सम्बन्ध कायम गर्नुपर्ने, आत्मनिर्भर र संवृद्ध नेपाल निर्माण गर्नुपर्ने जस्ता कुरामा नै आफ्नो मन्तव्य केन्द्रित गरे । तर, उनीहरु दुबैले  त्यस कार्यक्रममा एक–अर्का नेतालाई आरोप–प्रत्यारोप लगाउने काम गरेनन् । मञ्चमा समेत सँगै देखिएका ओली–नेपाल दुबैले एक–अर्काको भाषणलाई ध्यान दिएर सुने ।

दलीय स्वार्थ भन्दामाथि उठ्न ओलीको सुझाव

कार्यक्रम अवधिभर प्रधानमन्त्री ओली माओवादी र कांग्रेसको आलोनामा नै बढी केन्द्रित भए । उनले कांग्रेस–माओवादी दलीय स्वार्थमा केन्द्रित भएकाले एमाले नेतृत्वको सरकारले राम्रा काम गर्दागर्दै ढाल्ले चलखेलमा लागेको आरोप लगाए । ‘एमालेले नीति, कार्यक्रम र बजेट राम्रो ल्याएपछि छट्पटाएकाहरुले दलीय स्वार्थमा मात्र केन्द्रित भएर सरकार ढाल्ने खेल सुरु गरे,’ ओलीले भने, ‘अहिले उनीहरु नै मलाई भारतसँग सम्बन्ध विगार्यो भनेर आरोप लगाउछन् । यो सुन्दा अचम्म लाग्छ ।’

संसद् विघटन गर्ने चलखेल सुरु

प्रधानमन्त्री ओलीले अहिले संसद् विघटन गर्ने खेल सुरु भएको पनि आरोप लगाए । ‘पहिला संविधानसभा विघटन गरेको हामीलाई थाहा छ,’ उनले भने, ‘त्यसपछि पनि विभिन्न खेल भएकै हुन अहिले पनि संसद् विघटन गर्ने खेल सुरु भएको छ ।’ उनले २०७४ माघ ७ सम्ममा प्रतिनिधिसभाको निर्वाचन नभए संसद् नै विघटन हुने भएकाले अब बन्ने सरकारलाई स्थानीय वा प्रदेशको चुनाव होइन प्रतिनिधिसभाको चुनाव गर्न सुझाव दिए ।

राजनीतिमा चिनियाँ नाटकका पात्रको चलखेल

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै भने– ‘अहिले मलाई एउटा चिनियाँ नाटकको पात्रको याद आयो । नाटकमा एउटा पात्रलाई मुखुण्डो लगाएको हुन्छ फुत्त मुण्टो यता झट्कार्दा देवी जस्तो उता झट्कार्दा दानव जस्तो फेरि अर्कोतिर झट्कार्दा अर्कै जस्तो देखिन्छ । अहिले त्यस्तै काम भएको छ ।’

उनले नेपालको सबै भन्दा ठूलो नीति भनेको नेपालको उन्नती भएको भन्दै त्यस भन्दा दायाँ–बायाँ नहुने पनि दाबी गरे । ‘मित्रराष्ट्रहरुलाई सुझाव छ,’ हाम्रो नीति यही हो, यहाँ भन्दा दायाँ–वायाँ हुँदैन,’ उनले भने । उनले नेपालको मामिलामा हस्तक्षेप नगर्न पनि सुझाव दिए । ‘मित्रहरुले मित्रको व्यवहार गरुन्,’ उनले भने, ‘अहिले रातभरी छौँडा खेलाएर हामीलाई सुत्न नदिने काम भएको छ, यसो नगर्दा नै राम्रो हुन्छ ।’

मधेसवादी दलको माग पूरा नगरेकै हो

ओलीले मधेसवादी दलको पनि तीव्र आलोचना गरे । ‘म प्रधानमन्त्री बन्दा मधेसमा आगो बलेको थियो, मान्छे मरेका थिए,’ उनले भने, ‘केही मधेसवादी दल आन्दोलन गर्दै थिए । हाम्रा माग पूरा गर भन्दै थिए । तर, पछि उनीहरुको आन्दोलन नै सेलायो । आन्दोलन सरकारले माग पूरा गरेर सेलाएको होइन् ।’ ओलीले ती दलको माग नै केही नभएको दाबी गरे । ‘माग त भए पो पूरा गर्नु अरुकै रेडियोमा व्याष्ट्रि हालेको थियो,’ उनले भने, ‘व्याष्ट्रिको चार्ज सकिएपछि बज्न छाड्यो भएको यत्ति हो ।’

कोइलीका गुँडमा कागले अण्डा हालेर केही हुन्न

ओलीले भारतप्रति लक्षित गर्दै अहिले नेपालको राजनीतिमा वाहिरको चलखेल भएको आरोप लगाए । ‘कागले कोइलीका गुँडमा अण्डा राखेर बच्चा कोरल्ने प्रयास भएको छ,’ उनले भने, ‘यसको कुनै तुक छैन ।’ उनले नयाँ सरकार गठनपछि केही सञ्चार माध्ययम दशैँमा बच्चाले नयाँ लुगा लगाउँन पाइने भो, मीठो खान पाइने भो भन्दै नाचे जस्तो गरेको आरोप लगाउँदै त्यसो नगर्न सुझाव दिए । ‘केही हुँदैन,’ उनले भने, ‘नयाँ सरकारले के–के न गर्छ भन्ने लागेको होला केही पनि गर्दैन ।’

छिमेकसँग सम्बन्ध सन्तुलित राख्न नेपालको सुझाव

कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले छिमेकसँगको सम्बन्ध सन्तुलित राख्नु पर्नेमा जोड दिनुभयो । ‘अहिलेसम्म हामीले कुटनीतिक कौशलता देखाउँन सकेका छैनौँ,’ उनले भने, ‘अब हामीले देखाउनुपर्छ ।’ नेपालले दुई ठूला देश चीन र भारतको बीचमा रहेको भन्दै ती दुबै देशसँग सन्तुतिल सम्बन्ध राख्नु पर्नेमा जोड दिए । ‘हामी विदेश नीति मात्र जान्ने भयौँ,’ उनले भने, ‘अब हाम्रो नीति पनि सफल बनाउनु पर्छ ।’

१९५० को सन्धी पुनरावलोकन गर्न सुझाव

नेपालले १९५० को सन्धी पुनरावलोकन गर्न सुझाव दिएका छन् । उनले आफ्नो पालामा पनि भारतसँग त्यो प्रस्ताव राखेको तर त्यति सकारात्मक नभएको भन्दै अहिले भारत पनि सकारात्मक भएको भन्दै १९५० को सन्धी पुनरावलोकन गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्