संसद् सचिवालयद्धारा निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन, प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते


१७ साउन । संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गरेको छ । सो अनुसार यही साउन १८ गते बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन अपराह्न ४:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।

संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।

सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसद्मा अब बहुमतीय प्रक्रिया सुरु हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउने सम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १० गते सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई आह्वान  गरेकी थिइन् । सो अवधिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि सोमबार राष्ट्रपति कार्यलयबाट बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्र पठाइएको थियो ।

संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्मा तत्काल कायम रहेका सदस्यको बहुमतबाट प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो । सभामुख घर्तीले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका अनुसार  संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकी निर्देशन दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्