संस्थापनले पेल्न खोजेपछि काठमाडौँ एमालेमा विवाद, नेतृत्वलाई सच्चिन दवाव दिदैँ समानान्तर भेला


२७ चैत । स्थानीय निर्वाचन आउन करिब एक महिना मात्र बाँकी रहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्र भने सामान्य विवाद सुरु भएको छ । काठमाडौं एमालेको विवादका कारण पार्टी नेतृत्व नै विवादमा तानिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूलाई संस्थापन पक्षले पेल्न खोजेको भन्दै आइतबार राजधानीमै समानान्तर भेला आयोजना गरेपछि केही विवाद देखिएको हो । संस्थापन पक्षले पेल्न खोजेको भन्दै ५ सय अगुवा कार्यकर्ताको सहभागितामा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी सचिव योगेश भट्टराई लगायतको उपस्थितिमा समानान्तर भेला भेलाको आयोजना भएपछि शीर्ष नेतृत्वलाई पनि विवाद समाधन गरेर अघि बढ्न दवाव बढेको छ ।

केपी ओली समूहले आफूहरुलाई पेलेको र तीन बर्षमा हुनुपर्ने अधिवेशन ८ वर्षसम्म नगरेको नेपाल समूहको आरोप छ । एमाले काठमाडौंमा ओली पक्षका अध्यक्ष कृष्ण राई रहेका छन् । कार्यक्रममा नेताहरु नेपाल, खनाल र योगेश भट्टराईको सहभागिता रहेको थियो । कृष्ण राईको संयोजकत्वमा जिल्ला कमिटी पुर्नगठन गरेपछि एमाले भित्र विवाद सतहमा आएको थियो ।

पटक–पटक विवाद मिलाएर अघि बढ्न पार्टी नेतृत्वलाई दवाव दिए पनि त्यसको वेवास्था गरेपछि नेपाल समूहले समानान्त भेला गरेका हुन् । उपाध्यक्ष एवं प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्यको पहलमा गरिएको भेलामा वरिष्ठ नेताहरु नेपाल, खनाल र सचिव भट्टराईले पनि सम्वोधन गरेका थिए ।

नेपाल समूहले बसन्त मानन्धर सहसंयोजक र विद्यासुन्दर शाक्य सचिव रहने गरि गरिएको पुनर्गठनलाई संयोजक राईले नै अस्वीकार गर्दै वसन्त मानन्धरलाई सहसंयोजक नमान्ने र समितिमा थपिएका सदस्यलाई पनि स्वीकार नगरेपछि बाध्य भएर भेला आयोजना गरेको दाबी छ । नेपाल समूहले आफुुहरु विवाद बढाएर जाने पक्षमा नरहेको भन्दै नेताहरुले सकारात्मक ढंगले काठमाडौंको समस्या समाधान गर्नेमा अझै पनि आशावादी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्