संस्थापन गलाउन इतर पक्ष सक्रिय


काठमाडौं, १९ असार। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाबाहेकका दुई गुटमा रहेका नेताहरु केन्द्रीय समिति बैठक नजिकिँदै गर्दा सक्रिय हुन थालेका छन् । सभापति देउवाले बहुमतका आडमा पार्टीलाई कमजोर बनाउँदै लगेको भन्दै इतर पक्षका नेताहरु सक्रिय हुन थालेका हुन् ।
कांग्रेसभित्रका तीन गुटमध्ये सभापति देउवाबाहेकका गुटमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहका नेता केन्द्रीय समितिमा कसरी एक भएर जाने र सभापतिलाई बहुमतका आडमा निर्णय गर्नबाट रोक्ने भन्नेमा दिनहुँ जसो छलफलमा जुट्दै आएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा आउने एजेन्डाअनुसार आफूहरु अघि बढ्ने बताए ।
‘बैठकमा कस्ता एजेन्डा आउँछन् हेरौं, त्यहीअनुसार हामी अघि बढ्छौं । पार्टी विधानअनुसार चल्नुपर्छ । पार्टीको अधिवेशन हुनुपर्छ । भ्रातृ संगठनको समेत अधिवेशन हुनुपर्छ । मेरो कुरा यही हो,’ वरिष्ठ नेता पौडेलले भने ।

केन्द्रीय समितिलाई लिएर चल्दै आइरहेको छलफलको मध्यस्थता भने नेता अर्जुननरसिंह केसीले गर्दै आएका छन् । उनले गत महासमिति बैठकबाट एक अर्कामा शंकाको घेरामा रहेका नेता पौडेल र सिटौलालाई छलफलका लागि भन्दै एकै ठाउँमा राख्दै आएका छन् ।
गत साताको मंगलबार केसीले पौडेल र सिटौलालाई आफ्नो गोंगबु निवासमा डाकेर आगामी २२ असारमा बस्ने केन्द्रीय समिति बैठकमा कसरी एक भएर जाने र त्यसका लागि आवश्यक रणनीति कसरी तय गर्ने भन्नेमा छलफल समेत गराएका थिए ।
मंगलबार साँझसमेत नुवाकोट सभापति जगदीशनरसिंह केसीको निवासमा सभापतिइतरका नेताहरुको बैठक बसेको थियो । सो बैठकमा महामन्त्री शशांक कोइराला र नेतृ सुजाता कोइरालासहित पूर्वमहामन्त्री प्रकाशमान सिंहसमेत पुगेका थिए ।

बैठकमा सहभागी नेतृ कोइरालाले आगामी केन्द्रीय समितिमा कसरी जाने भन्ने विषयमा छलफल भएको र पार्टी विधि र विधानअनुसार नचलेकोमा सबैबाट चिन्ता आएको जानकारी दिइन् । उनले केन्द्रीय समिति बैठकमा समेत यिनै विषयलाई उठाइने बताइन् ।
‘पार्टीमा विधि पद्धति छैन, भ्रातृ संगठनको चुनाव भएको छैन । विधानअन्तर्गत रहेर काम हुँदैन । यिनै विषयलाई केन्द्रीय समितिमा उठाइन्छ,’ नेतृ कोइरालाले भनिन् ।
सभापति देउवाले भने २२ गतेका लागि डाकिएको बैठकमा पार्टीका भ्रातृ संगठन र नियमावलीका विषयसहित विभिन्न चार एजेन्डासमेत तय गरिसकेका छन् । देउवाले सो बैठकमा पार्टीको विधानले तय गरेको प्रदेशको संरचना बनाउन भन्दै वरिष्ठ नेता पौडेलसँग प्रस्ताव गरिसकेका छन् ।
तर, इतर पक्षका नेताले भने विधानमा व्यवस्था नै नभएको तदर्थ समिति बनाएर पार्टीलाई झनै कमजोर बनाउन नहुने र तल्लो तहका नेतामा फेरि भागबन्डाको सन्देश दिन नहुने भन्दै निर्वाचनमार्फत नै समिति बनाउनुपर्ने बताएका छन् ।गत ८ पुसमा सम्पन्न महासमिति बैठकबाट पारित भएर १२ फागुनको केन्द्रीय समितिबाट अनुमोदित कांग्रेस विधानले पार्टीको आठ तहको संरचानको परिकल्पना गरेको छ ।

जसअनुसार टोल, वडा, गाउँ तथा नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तह छन् । तर, नयाँ विधानले थप गरेकामध्ये तीन तहमा कांग्रेसको संगठन गठन हुन सकेको छैन ।
संस्थापन पक्ष सहमतिका आधारमा बुथ, प्रदेश निर्वाचन क्षेत्र, प्रदेश र विभिन्न भ्रातृ संठनमा मनोनयनमार्फत नै समिति गठन गर्ने कसरतमा छ । तर, संस्थापनइतर पक्ष भने निर्वाचनकै पक्षमा छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्