सङ्क्रमित युवतीको पाँचौँ रिपोर्ट नेगेटिभ, छैटौँ रिपोर्ट नेगेटिभ आए डिस्चार्ज


बागलुङ, ११ वैशाख
कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आउनुभएकी उहाँमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

“बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो ।

छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । हाल उहाँ अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा हुनुहुन्छ । युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ ।

युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित हुनुभएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसक्नुभएको छ । नेपालमा कूल ४५ सङ्क्रमितमध्ये सात कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्