सञ्चारमाध्यमलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार हुन राष्ट्रपति भण्डारीको सुझाव


६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको बताएकी छिन् ।

राष्ट्रपति निवास शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यमलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउनु पर्नेमा जोड दिइन् । पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गका रुपमा रहेको उल्लेख गर्दै उनले पत्रकारिता पेसालाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले पत्रकारिता पेसाका मूल्य तथा मान्यतालाई आत्मसात् गरी लोककल्याणकारी राज्यले अङ्गिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अङ्गले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने नेपालको संविधान जारी भएपछिको परिप्रेक्ष्यमा संवैधानिक प्रावधानको पालना र सम्पादनका अतिरिक्त राज्यको चौथो अङ्गको ध्यान देशलाई दु्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्नेमा जोड दिइन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमले विषयवस्तुमा केन्द्रित भएर समाचार लेख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्