सञ्चार माध्ययमले जे लेख्दा पनि हुनेरहेछ, अचम्म लाग्योः चित्रबहादुर केसी


३० साउन । मन्त्रीपरिषद्ले गरेको धरहरा पनुर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय गरे पनि अन्तिममा नगरेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयनले विज्ञप्ति नै निकालेर खण्डन गरेको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा मन्त्रीपरिषद्बाटै निणर्य गराएर सबै मन्त्रीहरुले एक महिनाको तलब त्यस अभियानका लागि दिने भनिए पनि नदिएको भन्दै सञ्चारमाध्ययममा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले नै विज्ञप्ति नै निकालेर समाचारको खण्डन गरेको हो ।

कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा समाचार गलत भएकोे उल्लेख गरिएको छ । विज्ञप्तिमा सबै मन्त्रीहरुले एक महिनाको तलब दिएको उल्लेखसमेत गरिएको छ । ओली सरकारका उपप्रधानमन्त्री चित्रबहादुर केसीले पनि त्यस्तो समाचार सुनेको भन्दै आश्चर्य प्रकट गरे । ‘यो सबै झूट हो,’ निकै आक्रमक बन्दै केसीले भने, ‘सञ्चार माध्ययमले जे लेख्दा पनि हुँदोरहेछ म त छक्क परेँ ।’

केसीले कुनै पनि मन्त्रीले एक महिनाको तलब ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा दिएनन् भन्ने समाचारमा कुनै पनि सत्यता नभएको दाबी गरे । ‘हामीलाई तलब प्रधानमन्त्री कार्यालयले खुवाउने हो, मन्त्रीपरिषद् बैठकले नै एक महिनाको तलब ‘म बनाउँछु मेरो धरहरा’ अभियानलाई दिने भन्ने निर्णय गरेको छ,’ केसीले भने, ‘अनि हामीले कसरी दिएनौँ, सुन्दा पनि अचम्म लाग्छ ।’ उनले आफ्नो विश्वास नलागे स्वकीय सचिवलाई सोध्न आग्रह गरे । उनले स्वकीय सचिवको फोन नम्वर नै दिएर सोध्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्