सडकबाटै योगेश भट्टराईको चेतावनी, ‘सरकारले अटेर गरे २ सय बढी सांसद् हातमा दही जमाएर बस्दैनन्’


१६ पुस । नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले असंवैधानिक कदमलाई जवरजस्ती टेबुल गर्न खोज्यो हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले नयाँबानेश्वरमा शनिबार आयोजना गरेको ‘सडकबाटै समाचार सम्प्रेषण कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

‘प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव  संविधान र न्यायपालिकाको क्षेत्राधिकारमाथिको हस्तक्षेप हो,’ भट्टराईले भने, ‘संविधान र न्यायलयलाई समेत हस्तक्षेप गरेर ल्याएको प्रस्ताव सरकारले जवरजस्ती टेबुल गर्न खोजे व्यवस्थापिका संसद्मा रहेका २ सय बढी सांसद् हातमा दही जमाएर बस्दैनन् ।’

उनले पुस २२ गते नेकपा (एमाले) सहितका नौ दलले राजधानीमा गर्न लागेको बृहद् प्रदर्शनको यो सांकेतिक रुप भएको भन्दै सरकारलाई संशोधन प्रस्ताव फिर्ता लिन बाध्य बनाउँने गरी नौ दलले २२ गतेको तयारी गरेको दानकारी दिए । ‘आज हामीले पहिलो पटक सडकबाटै समाचार संम्प्रेषण गरेर सांकेतिक प्रदर्शन गरेका छौँ,’ उनले भने,  ‘यस्ता प्रदर्शनहरु २२ गते अघि हजारौँ गर्ने छौँ ।’

उनले आजै मात्रै पनि उपत्यकामा २२ गतेको तयारीका लागि सयौँ कार्यक्रमहरु भएको जानकारी दिए । ‘उपत्यकाका तीन वटै निर्वाचन क्षेत्रदेखि गाँउ–गाउँ, टोल–टोलसम्म भेला तयारी भेला भएका छन्,’ उनले भने, ‘हामी २२ गते दुई लाख बढी मान्छे सडकमा उतार्छौ । त्यति गर्दा पनि सरकारले असंवैधानिक प्रस्ताव फिर्ता लिएन भने हामी ती भन्दा डरलाग्दा कार्यक्रम गर्न बाध्य हुनेछौँ ।’

उनले सरकारले आफ्नै क्षमताले भन्दा पनि अरुको इशारामा असंवैधानिक प्रस्ताव ल्याएको भन्दै देशलाई टुक्रा–टुक्रा बनाउँने यस्तो प्रस्ताव देशभक्त एमालेले स्वीकार गर्न नसक्ने दाबी गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलालगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्