सत्तारुढ कांग्रेसकै सांसद भन्छन्, ‘प्रधानमन्त्रीले हाम्रो पनि बदनाम गराउनुभयो’


३ कात्तिक । नेपाली कांग्रेसका युवा नेता तथा सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको प्रतिष्ठामा आँच पु-याएको आरोप लगाएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘प्रधानमन्त्री जस्तो व्यक्ति विदेश भ्रमणमा गएर हत्यारा, लुटेरा र डाँकासँग तस्बिर खिचाएर देशको वद्नाम गराउनुभएको छ ।’

सांसद खतिवडाले भने, ‘भारत भ्रमणका क्रममा प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिसँग फोटो खिचेर उहाँले देशको बद्नाम गर्नुभयो, हाम्रो पनि बद्नाम गर्नुभयो ।’ खतिवडाले हाम्रो देशको प्रधानमन्त्री भन्दा सबैले गौरव गर्ने खालको हुनुपर्ने अपेक्षा गर्दै भने, ‘हाम्रो देशको प्रधानमन्त्रीले अरुले देख्दा र हामीले भन्दा पनि कानुनी राज्यका पक्षमा डटेर लाग्नुभएको छ, बोलेका कुरा पूरा गर्नू भएको छ भन्ने हुनुपर्छ । तर त्यो भएको छैन ।’

सहिद गुरु लुइँटेल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सांसद खतिवडाले पार्टी फरक भयो भन्दैमा गोली हान्ने र मार्ने अधिकार कसैलाई पनि नभएको बताए । ‘साउदी अरवियाका राजकुमारलाई हत्या अभियोगमा फाँसी दिएको समाचार आज मात्र मैले पढेँ,’ उनले भने, ‘म नेपालमा पनि अर्काको ज्यान लिनेलाई फाँसी नै दिनुपर्छ भन्नेमा त छैन तर जनताका छोरा–छोरीका हत्यारालाई कानुनी कठघरामा जरुर ल्याउनुपर्छ ।’

ओखलढुंगामा सांसद रहेका खतिवडाले ओखलढुंगाका तत्कालीन शिक्षक गुरु लुइँटेल, राजनीतिज्ञ छवि कार्कीसँगै उज्जन–गणेश श्रेष्ठका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्नेमा जोड दिए । उनीहरु सबैको हत्या माओवादीले गरेको थियो । शिक्षक लुइँटेलको माओवादीले २०६० सालमा माओवादीले चरम यातनासहित हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्