सत्ता साझेदार दलसँगको सहमतिपछि मन्त्री चयन गरिने


 

२० साउन । नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा आज बसेको (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकले आजै अपराह्न १ बजे कांग्रेससँगको संयुक्त छलफलपछि मात्रै मन्त्रीको चयन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारका सहयात्री दलसँगको छलफलपछि मात्रै मन्त्रीको अन्तिम नाम चयन गरिने जानकारी दिइन् । तर उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा भने कृष्णबहादुर महरालाई पठाउने अनौपचारिक निर्णय भएको जनाइएको छ ।

शपथ ग्रहणपछि प्रधानमन्त्री लैनचौर जाने

प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि सहिद स्मृति स्तम्भ लैनचौरमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष दाहालको नीजि सचिवालयका अनुसार उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद तथा बेपत्ता योद्धाको स्मृतिमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण गर्नेछन् । सहिद तथा बेपत्ता योद्धाको सम्मानमा माल्यार्पण गरेपछि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर उनले पद भार ग्रहण गर्ने   कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्