सदनमा बहुमत हुनेले सरकार सञ्चालन गर्छ, अल्पमतमा परेपछि छाड्नुपर्छः नेता खनाल


९ साउन । नेकपा (एमाले) नेता एवम्  पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरल र स्वाभाविक ढङ्गबाट सरकार परिवर्तन हुनुपर्ने मान्यतामा आफ्नो पार्टी रहेको बताउँदै अविश्वासको प्रस्तावले देशलाई अस्थिरतातर्फ उन्मुख गराउने चिन्ता व्यक्त गरे  । ‘सदनमा बहुमत हुनेले सरकार सञ्चालन गर्छ, अल्पमतमा परेपछि छाड्नुपर्छ’ उनको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अन्य दलका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्तावमा स‌सदमा जारी छलफलमा बोल्दै खनालले यस्तो बताएका हुन ।

मुलुकले राष्ट्रिय सहमतिको अपेक्षा गरिरहेको छ, २०७४ माघ ७ गतेभित्र पाँच निर्वाचन गर्नुपर्ने गहन दायित्व भएकाले देशका सबै राजनीतिक दल मिलेर चुनाव गर्नु छ भन्दै उहाँले अविश्वासको खाडल गहिरो पारेर नभई त्यसलाई पुरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।
राजनीतिक दलमा लोकतान्त्रिक संस्कृति विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले संयुक्त सरकार सञ्चालनको संस्कृति विकास गर्न आह्वान गरे । विसं २०५० यता एकमना सरकार गठन हुन नसकेको र संयुक्त सरकारको मुख्य साझेदारले समर्थन फिर्ता लिनासाथ सरकार ढल्ने कुसंस्कृतिको अन्त्य हुनुपर्नेमा उनको चिन्ता र चासो थियो ।

प्रतिक्रिया दिनुहोस्