सदस्य–सचिवलाई मन्त्रालयमा तानियो, उपाध्यक्षलाई जिम्मेवारी, शुक्लाले तोडे अनशन


१६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङलाई मन्त्रालयमा तानेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयले तामाङलाई मन्त्रालयमा तानेको हो । तामाङले सम्हाल्दै आएको सदस्य–सचिवका जिम्मेवारी अर्को व्यवस्था नहुन्जेलसम्म कोषका उपाध्यक्ष भिक्षु निग्रोधलाई दिइएको छ ।

कोषका ज्यालादारी कर्मचारी रवीन्द्रप्रसाद शुक्ला विगत दुई हप्तादेखि सदस्य–सचिव तामाङको राजीनामा माग गर्दै कोषको मुलगेटमै आमरण अनशन बस्दै आएका थिए । तामाङले पदबाट राजीनामा नदिएसम्म आफूले अनशन नतोड्ने उनको अडान थियो । अनशनमा बसेका शुक्ला र अरु आन्दोलनरत कर्मचारीहरुसँग वार्ता गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको टोली केही दिनअघि लुम्बिनीमा पुगे पनि अनशनरत पक्षको अडानपछि कुनै निष्कर्षबिनै काठमाडौं फर्किएको थियो ।

सदस्य–सचिव तामाङलाई मन्त्रालयमा हाजिर गराउने निर्णयसँगै अनशनमा बसेका शुक्लाले अनशन तोडेका छन् । आन्दोलनरत पक्षले सदस्य–सचिव तामाङलाई हटाउनुपर्नेदेखि आफूहरुलाई स्थायी गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आइरहेको छ । त्यसमध्ये पहिलो नम्बरको मागको रुपमा रहेको सदस्य–सचिवको राजीनामा आंशिक रुपमा पूरा भएको भन्दै अनशन तोडिएको हो ।

यसअघि, कोषका कर्मचारीहरु अनशनमा बस्ने सुइँको पाएपछि सदस्य–सचिव तामाङ काठमाडौंतिर हिँडेका थिए । मन्त्री जीवनबहादुर शाहीले उनलाई राजीनामा दिन वा कोषका कर्मचारीहरुको समस्या समाधान गर्न पहल गर्नमध्ये एउटा विकल्प रोज्न सुझाव दिएका थिए । तर, उनले राजीनामा दिन नमानेका र आन्दोलनरत कर्मचारीहरुसँग वार्ता गर्नेतिर चासो पनि नदिएका हुँदा मन्त्रालयले उनलाई तानेको बताइन्छ ।

उपाध्यक्ष निग्रोधलाई सदस्य–सचिवमा जिम्मेवारी दिए पनि उनी पनि काठमाडौंमै बस्दै आएका छन् । शुक्ला अनशनमा बसेपछि गत पुस ८ गते लुम्बिनी पुगेका उनलाई आन्दोलनरत कर्मचारीहरु र व्यवसायीहरुले कार्यालयमै दुव्र्यवहार गरेपछि एक दिन लुम्बिनीमा बसेर काठमाडौं फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्