सप्तरी घटनाका दोषीलाई कारबाही गर्न एमालेले पठायो मानवअधिकार आयोगलाई पत्र


२७ फागुन । नेकपा (एमाले) ले सप्तरी घटनाका दोषीहरुमाथि आवश्यक छानविन र अनुसन्धान गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई पत्र लेखेको छ ।

एमालेले फागुन २१ गतेदेखि मेचीको काँकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियानबारे यसअघि नै आयोगलाई जानकारी गराएको उल्लेख गर्दै आयोगलाई लेखेको पत्रमा भनेको छ, ‘संविधान कार्यान्वयन तथा स्थानीय तहलगायत तीन तहको निर्वाचनको परिप्रेक्ष्यमा बृहद् राष्ट्रिय एकता कायम गर्ने उद्देश्यका साथ सुरु गरिएको मेची–महाकाली अभियान शान्तिपूर्वक फागुन २३ मा सप्तरी जिल्ला प्रवेश गरेको थियो । इटहरीबाट सप्तरी जाने क्रममा सुनसरी जिल्लाको इनरुवा प्रवेश गर्दादेखि नै कालो झण्डा देखाई ढुङ्गा हान्नेजस्ता विरोधहरूलाई सामान्य रूपमा लिँदै अघि बढेको अभियान सप्तरीस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सभामा परिणत भई सभा सकिएपछि भएको अप्रिय घटनाप्रति हामीले सोही दिन गहिरो दुःख व्यक्त गरेका छौं । हामी राजविराज पुगेपश्चात् गरिएका ढुङ्गा प्रहार, लाठी प्रहार, गाडी तथा मोटरसाइकल तोडफोड, सभास्थल नजिकै बम बिछ्याइएको र पेट्रोल बमको प्रहारजस्ता काम कारबाहीहरू गम्भीर रहेका छन् । हाम्रो पार्टीले अनावश्यक विवाद हुन नदिन पूर्वघोषित स्थल राजविराज रङ्गशालाबाट कार्यक्रमस्थललाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानान्तरण गरेको र ¥यालीको रुटसमेत बदलेर हनुमाननगर–राजविराजको सट्टा कोसी व्यारेज–भारदह–रूपनी–औद्योगिक क्षेत्र कायम गरी अत्याधिक संयम र लचकता अपनाउँदा पनि नियोजित ढङ्गले गरिएको आक्रमणले हामीलाई निकै गम्भीर बनाएको छ ।’

एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीद्वारा हस्तारित सो पत्रमा आयोगसमक्ष घटनाको छानविन गरी दोषीमाथि कारवाहीको सिफारिस गर्न तथा घटनाका पीडितहरूलाई उपचार, क्षतिपूर्ति तथा उचित सम्मान प्रदान गर्न अनुरोध गरिएको छ । आयोगलाई लेखेको पत्रमा भनिएको छ, ‘नेपालका राजनीतिक दलहरूको लामो संघर्षपछि राजनीतिक दल खोल्न पाउने तथा शान्तिपूर्वक भेला, सभा गर्न पाउने हकलाई संविधानमा मौलिक हकको रूपमा सुनिश्चित गराउन सफल भएका छन् । हामीले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकारका सन्धीहरूले पनि शान्तिपूर्वक भेला हुने, सभा गर्ने हकको प्रत्याभूति गरेका छन् । हाम्रो पार्टी यस्तो अधिकार नेपालका सबै दलहरूले निर्वाध ढङ्गले प्रयोग गर्ने वातावरण हुनुपर्दछ भन्ने मान्यतामा अडिग रहेको छ । एउटा दलले गरेको शान्तिपूर्ण भेला, सभा, अभियानको सम्मान गर्नु अर्को कुनै राजनीतिक दलको दायित्वभित्र पर्दछ । कुनै राजनीतिक दलको घोषित कार्यक्रमलाई हिंसात्मक ढङ्गबाट प्रतिरोध गरिनु सामान्य सुझबुझ, हाम्रो संविधानले स्थापित गरेको मान्यता तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकारका मान्यताविपरीत गरेको स्पष्ट छ । लोकतान्त्रिक समाजमा कुनै पनि दलले राजनीतिक प्रकृतिका शान्तिपूर्ण गतिविधि गर्न पाउनु वैध आकाङ्क्षाभित्र पर्दछ । त्यस्तै कुनै दलले सामान्य मर्यादाभित्र रही अन्य कुनै दलको कार्यक्रमको सम्मान गर्नु, अवरोध नगर्नु र कार्यक्रम हुने वातावरण तय गर्नु आफ्नो कर्तव्यभित्र पर्दछ । यदि कुनै अवाञ्छित गतिविधिबाट शान्तिपूर्वक हुने दलीय कार्यक्रमलाई अवरोध सिर्जना भएमा वा हिंसाको प्रयोग भएमा त्यस्तो हिंसा रोकी कार्यक्रम गर्न पाउने वातावरणको सिर्जना गर्नु राज्य, प्रहरी तथा प्रशासनको सकारात्मक दायित्वभित्र पर्दछ ।’

पत्रमा भनिएको छ, ‘हाम्रो पार्टीले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियान आयोजन गर्ने क्रममा सप्तरीलगायत विभिन्न जिल्लाहरूमा हाम्रो कार्यकर्ता, नेता तथा शुभचिन्तकहरूलाई कालो मोसो दल्ने, घर–घरमा प्रवेश गरी कुटपिट, तोडफोड र आगजनी गर्ने कार्यहरू भएका छन् । फागुन २३ को घटनापछि उक्त कार्यलाई अझ तीब्र बनाइएकोे छ । पार्टी कार्यालयहरू तथा हाम्रा कार्यकर्ता तथा नेताहरूका घरहरू तोडफोड गरिएका छन् । यस्ता कार्यहरू नैतिक रूपमा निन्दनीय त छँदैछन्, कानुनी शासनको सामान्य मान्यताविपरीत पनि रहेका छन् । हाम्रो संविधानले कुनै दलविरुद्ध अभिव्यक्ति दिन शान्तिपूर्वक भेला, सभा तथा निर्वाचनका माध्यमहरू सिर्जना गरेको छ । यस्ता वैध तरिका छँदाछँदै कुनै राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई सामाजिक रूपमा बहिस्कार गरौं भन्ने जस्ता विज्ञप्तिहरू राजनीतिक दल वा मोर्चाको छापसहितको लेटरप्याडमा प्रकाशित हुनु दुःखद छ ।’

आयोगसमक्ष सप्तरी जिल्लालगायत तराई÷मधेशका विभिन्न जिल्लाहरूमा फागुन २१ र त्यसपश्चात सिर्जना भएको परिस्थिति तथा एमालेविरुद्ध लक्षित गरी गरिएका संविधान, कानुन, अन्तर्राष्ट्रिय मान्यता र सामाजिक मूल्य मान्यताविपरीत भएका कार्यहरूको छानविन अनुसन्धान गरी प्रत्येक घटनाहरूको यथार्थ विवरण सार्वजनिक गर्दै दोषीउपर कारवाहीको सिफारिस गर्न एमालेले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्