सप्तरी घटनाबारे वामदेव भन्छन्– ‘प्रहरीलाई रिभल्भर, पेस्तोल, थ्रीनट थ्री, एसएलआर किन दिएको ?’


फागुन २९ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले भैरहवामा निकै उत्तेजक भाषण गरेका छन् । एमालेले फागुन २१ बाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आइतबार भैरहवामा सम्वोधन गर्ने क्रममा यस्तो भाषण गरेका हुन् । उनले कञ्चनपुरको घटनामा भारतले नेपालीहरुको अपमान गरेको आरोप लगाए । उनले कञ्चनपुर घटना सार्वभौम अधिकार सम्पन्न जनतालाई भ्रम सिर्जना गर्ने प्रयास भएको पनि आरोप लगाए ।

पूर्खाले रगत बगाएर देश निर्माण गरेको भन्दै उनले नेपाली जनता विदेशीको गुलाम बन्न तयार नभएको पनि दाबी गरे । उनले मधेसी मोर्चा नेपाली नभएको पनि आरोप लगाए । ‘हामीमाथि लगाइएको नाकाबन्दीमा मधेसी मोर्चाका नेताहरुले गएर खुशियाली मनाउँछन् । ती मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय हुन् भन्ने टुंगो लगाउनुपर्दछ,’ उनले भने, ‘त्यो नाकाबन्दीबाट सबभन्दा बढी मार खाने पीडकहरु को हुन् ? यही तराई मधेसमा बसेका जनता हुन् । त्यसबेला उनीहरुले मट्टीतेल लिएर आउँदा पनि त्यही मट्टीतेल छर्केर आगो लगाइदिए । त्यसपछि बल्ल पहाडतिरका जनताले मार खाएका हुन् ।’

उनले मधेसका जनतालाई पीडा दिने, दुःख दिनेहरु मधेसी संगठन हुन नसक्ने भन्दै जनताका प्रतिनिधि हुने अधिकार पनि उनीहरुलाई नभएको बताए । उनले नेकपा एमालेलाई समाप्त गर्ने षडयन्त्र कुनै हालतमा पूरा नहुने पनि दाबी गरे । ‘नेकपा एमालेलाई तराईमा आउनै नदिने रे । किन ? किन आउन नदिने ? के यो तराई महन्थ ठाकुरको राजेन्द्र महतोको उपेन्द्र यादवकी आमाले पेट बोकेर जन्माएको थलो हो यो ?’ उनले भने, ‘यो धर्ती जहिलेदेखि जन्मेको छ, यो नेपाल हिमाल पहाड र तराईबाट कहिल्यै पनि अलग भएन । कसैले पनि तराईको मात्रै ठाउँमा कहिल्यै राज्य गरेन । र, मधेस राज्य भन्ने यो नेपालमा कहिल्यै कहिल्यै भएन ।’

पूर्व गृहमन्त्री समेत रहेका गौतमले भने– ‘प्रधानमन्त्रीले कुनै पनि हालतमा गोली नचलाउनु भन्न मिल्छ ? प्रधानमन्त्रीले कहिल्यै भन्छ त्यस्तो ? त्यसो हो भने सेना किन राखेको ? गोली नचलाउने हो भने सशस्त्र प्रहरी किन राखेको ?’

उनले गोली नचलाउने हो भने प्रहरीलाई रिभल्भर, पेस्तोल, थ्रीनट थ्री, एसएलआर अनेकौं किसिमका हात हतियारहरु किन दिएको भनी प्रश्न गरे । ‘ दुश्मन जसरी आउँछ, उ त्यसै गरेर प्रस्तुत हुन्छ,’ उनले भने, ‘यो सर्वमान्य सिद्धान्त हो । सारा संसारभरि यो लागू हुन्छ ।’

उनले आफ्नो ज्यानको बाजी लगाएर नेपालको सबभन्दा ठूलो पार्टीका शीर्ष नेताहरुको टीमको सुरक्षाका निम्ति समर्पित गर्ने सुरक्षाकर्मीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्