सबैलाई हँसाउने ‘लाजालाम’ रुवाउँदै बिदा भए


२४ मंसिर । होचो कद, मोटो शरीर । यस्तै हुलिया थियो, हास्यकलाकार आरपी भट्टराईको । उनी आफ्नै शरीरलाई लिएर व्यंग्य गर्न पनि पछि हट्दैनथे । र, शरीर हल्लाउँदै गाउँथे, ‘जीउ मेरो ठ्याक्कै हात्तीजस्तै रे…।’

अब भने सबैलाई हँसाउने ती कलाकारलाई हामीले सम्झनामा मात्र भेट्नेछौं । केही वर्षअघिसम्म नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य–टेलिशृंखला ‘तीतो सत्य’ का प्रख्यात कलाकार ‘लाजालाम’ अर्थात् भट्टराईको अल्पायूमै निधन भएको छ । उनी ४२ वर्षका थिए ।

केही दिनअघि मात्रै विराटनगर गएका कलाकार भट्टराईको शुक्रबार निधन भएको हो । उनी प्रेसर र सुगरका बिरामी थिए । उनले तीतो सत्यलगायत दर्जनौं टेलिशृंखलाहरुमा अभिनय गरेका थिए । गाउनमा समेत रुचि राख्ने दिवंगत कलाकार भट्टराईले गीति–एलबम पनि निकालेका छन् । उनले पछिल्लो समयको चर्चित फिल्म ‘छक्कापञ्जा’ मा समेत अभिनय गरेका थिए भने ‘वडा नम्बर ६’ मा पनि उनको अभिनय रहेको थियो ।

दिवंगत कलाकार भट्टराईको श्रीमती र २ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्