सभामुख घर्ती राजनीतिक भेटघाटमा व्यस्त


५ साउन । दलबीचमा चुलिएको अविश्वासको वातावरणलाई सहमतिका आधारमा अन्त्य गर्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।

नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । सो अविश्वासको प्रस्तावमा माथि बिहीवार सदनमा छलफल हुँदैछ ।
यस क्रममा उनले बुधवार  बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी ती दुवै अध्यक्षलाई सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गरेकी छन् ।

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले दिएको जानकारी अनुसार ती दुवै भेटमा सभामुख घर्तीले दुवै शीर्ष नेतालाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गरेकी थिइन ।

दलका बीचमा अविश्वासको प्रस्तावमाथि पहिलो छलफल गर्ने की विनियोजन विधेयक माथि पहिलो छलफल गर्ने विषयमा विवाद चुलिएको छ ।

नेकपा (एमाले )ले विनियोजन विधेयक माथि छलफल भएपछि मात्र अन्य विषयले सदनमा प्रवेश गराउनुपर्ने माग गरेको छ भने काँग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव टुङ्गो लगाएपछि मात्र अरु विषयले प्रवेश पाउनुपर्छ भन्ने माग राख्दै आएको छ ।

कार्यसूचीका विषयमा दलीय सहमति बनाउन पनि सभामुख घर्तीले शीर्ष नेतृत्वलाई ध्यानार्षण गराउँदै सहमति नभएमा यसअघि सूचित कार्यसूचीलाई नै अघि बढाउन आफू बाध्य हुने जानकारी उहाँहरुलाई गराएकी थिइन्।

सो अवसरमा नेकाका सभापति देउवाले सहमतिका लागि प्रयास भइराखेको सभामुख घर्तीलाई जानकारी दिँदै भोलिसम्ममा निकास निस्कने बताएका थिए ।

यसैगरी अध्यक्ष दाहालले पनि दलका बीचमा देखिएका भनिएको अविश्वासलाई विश्वासमा रुपान्तरण गर्न प्रयास भइराखेको बताएका थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गरेकी थिइन । रासस

प्रतिक्रिया दिनुहोस्