सभामुख माओवादी कार्यकर्ता बनिन्, मुकाबिला गर्ने एमालेको चेतावनी


३१ असार । सभामुख ओनसरी घर्तीले परम्परा र अभ्यासका आधारमा अविश्वासको प्रस्ताव बाहेक अब संसद्मा अरु ‘बिजनेस’ अघि नबढाउने निष्कर्षमा पुगेको जानकारी दिएकी छिन् ।

व्यवस्थापिका–संसद्को कार्यसूचीमा रहेको आर्थिक विधेयक २०७३ र प्रमुख प्रतिपक्षले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिलो अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षबीच मत बाझिएसँगै सभामुखले निर्णय लिनुपरेको हो ।

प्रस्ताव अघि बढाउने सिलसिलामा विवाद उत्पन्न भएपछि सभामुखको निर्णय नै अन्तिम हुने प्रावधान छ । आजका लागि निर्धारित बैठक स्थगनको सूचनापछि पत्रकारसँग कुराकानी गर्दै सभामुख घर्तीले भनिन् ‘सहमतिका लागि प्रयास गरे, सहमति हुन सकेन, दुवै पक्षबीच आआफ्नो अडान कायमै रह्यो, दलसँग परामर्श लिएर यसअघिका अभ्यासका अविश्वासको प्रस्तावबाहेक अरुलाई अघि नबढाउने निष्कर्षमा पुगे ।’

‘दलबीच सहमति भएका खण्डमा जुनसुकैलाई अघि बढाउन सकिने भए पनि संसद्मा यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि तुलनात्मक रुपमा अविश्वासको प्रस्तवलाई नै अघि बढाउने अभ्यास र परम्परा देखिएको हुँदा त्यसैको पक्षमा आफू उभिएको हुँ’ सभामुखले भनिन् । उनले पदीय दायित्वअनुसार बराबरीको भूमिका खेलेको भन्दै अझ केही आशङ्का पैदा भएको भए व्यवहारबाट मन जित्ने दाबी गरिन् ।

मुकाबिला गर्न तयार छौँ– सत्तारुढ

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारकातर्फबाट अघि सारिएको राजस्वसँग सम्बन्धित आर्थिक विधेयकलाई पारित गरेर अघि बढ्दा सहजतातिर जानेमा सूचना टाँस गरेर बैठक स्थगन गर्ने अनि त्यसलाई रोकेर नयाँ कार्यसूची ल्याउने कामले सदनभित्र षड्यन्त्र सुरु भएको भनी टिप्पणी गरे ।

‘यसले सदनभित्रको द्वन्द्व निम्त्याएको छ, सत्ताको नेतृत्व गरिरहेको दलको सचेतकको हैसियतले कसैलाई द्वन्द्व निम्त्याउने रहर लागेको छ भने त्यसको मुकाबिला गर्नका लागि आफूहरु तयार रहेका छौँ,’ ढकालले भने ।
छलफलका लागि तय गरिसकेको कार्यसूचीभन्दा बाहिर गएर परिस्थितिलाई नयाँ ढङ्ग र समझदारीभन्दा द्वन्द्वतिर जान लागेको बताउँदै उनले सरकारी कार्यसूचीलाई कार्यान्वयन गर्न नदिने प्रयत्न भएको भनी सभामुखको भूमिकाको समेत आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्