‘समय नबुझेर’ गद्दी गुमाएका ज्ञानेन्द्र भन्छन्, ‘समय घर्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन’


६ पुस । दलहरुबीच बेमेल बढिरहेको बेला पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गरेर ध्यानाकर्षण गर्ने प्रयास गरेका छन् । गैरसंवैधानिक तथा अप्रजातान्त्रिक कदम चालेर २ सय ४० वर्ष पुरानो राजतन्त्र डुबाउन निर्णायक भूमिका खेलेका ज्ञानेन्द्रले दलहरुलाई आर्ति दिँदै ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको’ टिप्पणी गरेका छन् ।

रमाइलो कुरा त के छ भने खुल्ला र लोकतान्त्रिक समयको सन्देशलाई नबुझेर २०१७ सालमा आफ्ना पिता महेन्द्रले जस्तै दलविहीन व्यवस्था फर्काउने कोसिस स्वरुप त्यतिबेलाकै पात्रहरु अघि सारेर ०६१ माघ १९ मा आत्मघाती कदम चालेका उनले दलहरुलाई उपदेश दिएका छन्, ‘समय घर्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’

सत्तापक्षले संविधानविपरीत संविधान संशोधन प्रस्ताव अघि सारेका कारण संसद्मा प्रमुख प्रतिपक्षले अवरोध गरिरहेको बेला ज्ञानेन्द्रको यस्तो वक्तव्य आएको छ । मरिसकेको राजतन्त्र ब्युताउँन सकिन्छ कि भनेर बेलाबेलामा सपनाबाट ब्युँझिए झैँ गरेर वक्तव्य जारी गर्ने गरेका ज्ञानेन्द्रका्े वक्तव्यलाई यतिबेला अर्थपूर्ण रुपमा लिइएको छ ।

राजतन्त्र पुनःस्थापना गरिदिन ज्ञानेन्द्रले विभिन्न विदेशी शक्ति केन्द्रहरु गुहार्दै हिँडेको सूचना पाएका दलहरुले त्यस्तो निरर्थक प्रयासको कुनै अर्थ त देखेका छैनन्, तर दलहरुबीचको एकता कमजोर भएमा प्रतिगामी शक्तिहरुले कसरी टाउको उठाउन सक्छन् भन्ने एउटा उदाहरणका रुपमा चाहिा यस वक्तव्यलाई लिनुपर्छ । यो वक्तव्य जम्माजम्मी ज्ञानेन्द्रको धमिलो पानीमा माछा मार्ने प्रयास मात्र देखिन्छ ।

gyanendra

प्रतिक्रिया दिनुहोस्