समस्यामा वैदेशिक रोजगारबाट फर्केका नेपालीे, २३ हजार आवेदन २३ जनाले मात्र पाए ऋण


काठमाडौं, ११ साउन। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमा रोजगारी दिन सरकारले ल्याएको कार्यक्रम प्रभावकारी हुन नसक्दा विदेशबाट फर्किएकाहरू अलपत्र परेका छन् । सरकारले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा देशको अर्थतन्त्रको महŒवपूर्ण हिस्सा ‘रेमिट्यान्स’ भित्र्याउन महत्वपूर्ण योगदान दिँदै आएका नेपालीको अपमान भएको उनीहरूले आरोप लगाएका छन् । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ‘रेमिट्यान्स’ ले धान्दै आएको छ ।

स्वदेशमै व्यवसायको वातावरण तयार पार्ने आकर्षक नारा दिएर सरकारले विदेशबाट फर्किएकाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले उत्साहपूर्वक घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा भने समस्या देखिएको छ । बैंकले अनेक बहाना बनाएर ऋण दिन आनाकानी गरेपछि स्वदेशमै केही इलम गर्ने सुन्दर सपना बोकेर फर्केका हजारांैले ऋण पाउन सकेका छैनन् ।
सरकारले बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सरकारको सो घोषणाअनुरूप बैंकले बिनाधितोमा ऋण उपलब्ध गराउँदा लगानी जोखिममा पर्ने र ११ प्रतिशतभन्दा बढी ब्याज असुल्दै आएका बैंकले ३ प्रतिशतमा ऋण दिनुपर्ने भएपछि आनाकानी गरेको स्रोतले जानकारी दिएको छ ।
सहुलियत ऋणका लागि आवेदन खुला भएपछि २३ हजारभन्दा बढीकोे संख्यामा आवेदन परेको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १८ हजार ७ सय ६७ जनाको मात्र आवेदन सदर भएको छ । सहुलियत ऋण उपलब्ध गराउन समन्वय गरिरहेको सामाजिक संस्था रिटर्नी नेपालका अनुसार आवेदन दिएर स्वीकृत भएका १८ हजारमध्ये हालसम्म २३ जनाले मात्र ऋण पाएका छन् ।
रिटर्नी नेपालका अध्यक्ष उत्तम अधिकारीका अनुसार संस्थाले आवेदन दिएकाहरूको प्रस्ताव र कागजपत्र हेरेर सिफारिस गर्ने गरेको छ । यस क्रममा १० प्रतिशत मात्रले आवश्यक कागजात पूरा गरेको उनको भनाइ छ । अधिकारी भन्छन्, ‘प्रक्रिया पूरा गरेर सिफारिस भएकामध्येलाई समेत बैंकले ऋण दिन आनाकानी गरिरहेको छ । यसले वैदेशिक रोजगारीबाट फर्केकालाई अन्यायमा पारेको छ । झनै कार्यविधि संशोधन नहुँदा धेरै मर्कामा परेका छन् ।’
कार्यक्रमलाई एनएमबी बैंकले १ हजार जनासम्मलाई ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो । कार्यक्रम लागू गर्ने अभियानमा भूमिका खेलेको राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक र समन्वय गर्ने गरी सामाजिक संस्था रिटर्नी माइग्रेट नेपालबीच वैशाखमा सम्झौता भएको थियो । सम्झौताअनुसार रिटर्नी नेपालले सिफारिस गरेको आधारमा बैंकले प्रस्ताव हेरेर सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ ।
मलेसियाबाट होटलमा काम गरेर तीन वर्षअघि फर्किएका बनेपाका गणेश गुरुङ आफ्नो प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि बैंकले ऋण दिन भने नमानेको र अनेक बहाना बनाएर पन्छिने गरेको बताउँछन् ।
‘बैंकले कहिले क्लोजिङ छ, कहिले स्टाफ छैन, कहिले माथिको आदेश आएको छैन भन्दै अनेक बहाना बनाउने गरेको छ,’ उनले भने ।

गुरुङले सहुलियत पाउने भएपछि ऋण काढेर रेस्टुरेन्टसमेत सञ्चालन गरेका थिए । ऋण नपाउने अवस्था आएपछि उनी निराश छन् । साउदी अरबमा होटलमा काम गरेर फर्केका काभ्रेकै अर्का युुवा रामबहादुर तामाङ प्रक्रिया पूरा गरे पनि बैंकले अनेक बहाना देखाएर ऋण दिन आनाकानी गरिरहेको बताए । अर्थ मन्त्रालयका अधिकारीले मन्त्रीसँग छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएको तामाङ बताउँछन् ।
यस सम्बन्धमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई समेत जानकारी गराइएको र मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद् बैठकमा छलफल गर्ने जानकारी दिएको उनीहरू बताउँछन् ।
कार्यक्रमको सरोकारवाला निकाय अर्थ मन्त्रालय र राष्ट्र बैंक हुन् । राष्ट्र बैंकले ऋण दिन बैंकलाई निर्देशन दिएको छ । त्यस्तै, अर्थ मन्त्रालयले कार्यविधि संशोधन गरेर मात्र सम्भव हुने भएकाले मन्त्रिपरिषद्ले स्वीकृत गरे मात्र तीन वर्ष पहिले नेपाल आउनेले यो सुविधा पाउने अवस्था छ । विदेश बसेकालाई नेपालमै सहुलिएत दिने घोषणासँगै धेरै नेपाली विदेश छाडेर फर्किएका थिए ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्