समाचार होस् वा साहित्य, दुवैको स्रोत यही समाज नै होः मार्खेज


आखिर, मार्खेजलाई नपढ्ने को होलान् र संसारमा ? नोबेल साहित्य पुरस्कार विजेता ल्याटिन अमेरिकी उपन्यासकार मार्खेज संसारभरि नै पढिन्छन् । ३७ भाषामा उनका कृतिहरुको अनुवाद भएको छ । र, उनको बहुचर्चित कृति ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्यूड’ सबैभन्दा बढी पढिने र बिक्ने उपन्यासमा दरिन्छन् ।

अढाई वर्षअघि ८७ वर्षको उमेरमा निधन भएका मार्खेज सुरुमा पत्रकारितामा रमाए पनि पछि भने उपन्यास–लेखनमा नै केन्द्रित रहे । विश्व साहित्यलाई उत्कृष्ट साहित्य प्रदान गर्ने मार्खेजसित पत्रकार पिटर एच स्टोनले गरेका कुराकानीलाई भावानुवादसहित प्रस्तुत गरिएको छ ।

–आज मार्खेज साहित्यको संसारमा एक चर्चित नाम बन्न पुगेको छ । यद्यपि, यो यात्राको सुरुवात एकजना पत्रकारको रुपमा भएको थियो । के आज पनि तपाईंलाई पत्रकारिताप्रति कुनै अप्रसन्नता महसुस हुन्छ ?

उपन्यासकारको रुपमा धेरै अगाडि बढे पनि आज पनि म निश्चित रुपमा पत्रकारिताप्रति आफ्नो लगाव रहेको महसुस गर्दछु । मलाई जहिल्यै लाग्दछ, मेरा लागि उपयुक्त ठाउँ पत्रकारिता नै हो । चाहन्छु कि, कुनै यस्तो अवसर मिलोस्, जसबाट मेरा पुराना दिनलाई जोड्न सकियोस् । अँ, यो आवश्यक छ कि, व्यावसायिक बाध्यताका कारण ‘स्टोरी’ को पछाडि कुद्नु सायद अब सम्भव नहोला ।

–के यस्तो लाग्दछ, आफ्नो भूमिकाको माध्यमद्वारा तपाई त्यस्तो भन्न सक्नु हुन्छ, ती समाचारहरु लेख्न अब सम्भव देखिँदैन ?

हेर्नुस्, चाहे अखबारमा छापिएका कुनै समाचार होस् वा बुकस्टलमा सजिएका उपन्यासमा नामांकित कुनै कहानी, दुवैको स्रोत, सामग्री र आयोजना यही समाजबाट नै चुनिएका हुन्छन् । यहाँसम्म कि, भाषा, कथ्य र तथ्य पनि तिनै हुन्छन्, केवल शैली मात्रै बदलिन्छ ।

–‘सत्य विरुद्ध कल्पना’ लाई सन्तुलित बनाउन पत्रकार र उपन्यासकारमा कसको हिस्सा कति जिम्मेवार रहन्छ ?

धेरै सामान्य कुरा छ । पत्रकारितामा केवल एउटा गलत तथ्यले पूरै कथ्यमाथि प्रश्नचिन्ह लगाइदिन्छ, जबकि कथा–साहित्यमा घोलिएको एक सानो सत्यले त्यसलाई कैयौं गुणा विश्वसनीय बनाइदिन्छ । सत्य अथवा कल्पना, चयन गर्ने कुरा लेखकको सोच र प्रतिबद्धतामा निर्भर रहन्छ । यति आवश्यक छ कि, उपन्यासकारसँग आफ्ना कुरालाई त्यस विन्दुसम्म खिचेर लैजाने पूरा स्वतन्त्रता हुन्छ, जहाँ मानिसहरुले उसलाई भरोसा गर्न सकोस् । जहाँसम्म मेरो कुरा छ, पत्रकारिताले मेरो कथा–साहित्यलाई सत्यसित जोड्यो भने कथा–साहित्यले मेरो पत्रकारितालाई साहित्यिक मूल्य प्रदान ग¥यो ।

–विगतलाई फर्किएर हेर्दा कस्तो महसुस हुन्छ ?

मलाई लाग्दछ, आजको परिस्थितिमा केही लेख्नु पहिलेभन्दा धेरै नै कठिन छ । जब म पत्रकारितामा थिएँ, तब ममा आफूले लेखेका शब्दप्रति त्यस्तो लगाव वा जिम्मेवारीको प्रतीति थिएन, जो आज छ । ‘एल एक्सपेक्टाडोर’ (पत्रिका) मा काम गर्दा म दिनहुँ दुई–तीन वटा सम्पादकीय, फिल्म समीक्षा लेख्थेँ र त्यसका साथै हप्तामा तीन वटा ठूला समाचार–कथा पनि लेख्थेँ । त्यतिबेला कार्यालयको लिनोटाइप मेसिनको आवाज मलाई वर्षाद्को पानीको थोपाजस्तै लाग्दथ्यो । त्यसकै सहारामा म रात–रातभरि लेख्दथेँ । तर आज भने राम्रो मौसममा बिहान ९ देखि ३ बजेसम्म अध्ययन–कक्षको टेबुलमा ३÷४ घन्टा घोरिएर बस्दा मुस्किलले ३÷४ हरफको एउटा छोटो अंश मात्रै लेख्दछु । अर्को दिन भने त्यो ३÷४ हरफ पनि हावामा कागजको जहाज बनेर उड्न पुग्छ ।

–तपाईमा यस्तो परिवर्तन सफलता प्राप्त भएपछि आएको हो ?

धेरै हिसाबले । यसको कारण सफलता नै हो । जब तपाई जान्नु हुन्छ, तपाईले लेख्नुभएको शब्द कतिजनाको हातबाट गुज्रिँदैछ ? कति मानिसहरुका जिन्दगी, सोच र प्रेम तपाईसँग जोडिएका छन् ? त्यतिबेला कलम आफैं जिम्मेवार हुन थाल्दछ । मानिस एकचोटि माथि उक्लिएपछि तल झर्न चाहँदैन ।

–लेखनको सुरुवात कसरी भयो ?

चित्र बनाउन थालेपछि । स्कुलका दिनहरुमा म सोखले कार्टुन बनाउथेँ । सायद, त्यहीबाट ममा आफ्ना विचार राख्ने इच्छा जागृत भयो । उच्च शिक्षा अध्ययन गर्ने समयसम्म मेरो परिचय लेख्ने–पढ्ने खालका मानिसको रुपमा हुन थाल्यो । पर्चा लेखाउन, कुनै बैठकको एजेन्डा र कुनै पत्र…सबै मानिसहरु मकहाँ आउन थाले । बागोटा युनिभर्सिटीमा अध्ययन गर्न थालेपछि म केही गम्भीर हुन थालेँ । म समकालीन लेखकहरुसँग नजिक हुन थालेँ ।

एक दिन मेरा एक जना साथीले मलाई फ्रेन्ज काफ्फाको कथा पढ्न दिए । उनको कथाको पहिलो हरफ थियो, ‘गे्रगोर सामसा बिहानै आफ्ना अधुरा सपनासहित जागे र उसले आफैलाई ओछ्यानमाथि घिस्रिरहेको एउटा किरामा बदलिएको पाए…’ । यो कथा पढेको रात मेरो मुटुलाई बेस्मारी हल्लाइ दियो । अर्को दिन मैले पहिलो कथा लेखेँ, जो जायसियनको लेखनबाट प्रभावित थियो । यो कथा बागोटाबाट निस्किने ‘एल एक्सपेक्टाडोर’ मा छापियो । त्यसमा बौद्धिकताको आवरण धेरै थियो । फेरि समय र समाजका बारेमा लेख्ने–पढ्नेहरुको समूहमा यो आफ्नै तरिकाको पहिलो प्रयोग थियो ।

–‘लीफ–स्ट्रोम’ देखि ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्यूट’ सम्म तपाईको बेग्लै शैली रह्यो । त्यसका बारेमा केही बताइदिनुस् न ।

‘लीफ–स्ट्रोम’ लेख्ने बेला मभित्र यस्तो महसुस उत्पन्न भएको थियो कि, गाउँ, बाल्यकाल, विगतका यादहरु…यी नोस्टेल्जियाको पछाडि मैले ती यथार्थ पक्षहरुलाई लुकाइरहेको छु, जोसित देश र समाज जुधिरहेको छ । फाक्नर र हेमिंगवेका किताबहरु पढ्दा मैले साहित्य र राजनीतिबीचको अन्तर देख्न पाएँ । नो वन राइट्स टु द कालोनस, इन इविल आवर, बिग मम्माज फ्युनरल, यी सबै अगाडि–पछाडि लेखिएका हुन् । यी किताबहरुमा मैले कुनै जादुको धर्ती निर्माण गर्ने कोसिस गरेको थिइनँ । यी सबै एक किसिमको साहित्यिक पत्रकारिताको प्रयास थियो । तर, मलाई फेरि एक पटक के लाग्यो भने, म गलत बाटोमा छु । मेरो बाल्यकालका कथाहरुमा समयको सत्य धेरै नै अभिव्यक्त थियो । पटक–पटक बाटो बदल्दा म थाकिसकेको थिएँ । र, पाँच वर्षसम्म शान्त रहेर मैले आफ्नो लय समातेको थिएँ ।

–‘वन हन्ड्रेड इयर्स अफ सोलिच्यूट’ ले अपार सफलता पाउँछ भन्ने लागेको थियो ?

बिल्कुलै लागेको थिएन । जब प्रकाशकले मलाई भने कि, यो उपन्यास ८ हजार प्रति छाप्नुपर्छ । उनको कुरा सुनेर म स्तब्ध भएँ । जुन लेखकले ६ सयको आँकडा पार गरेको थिएन, उसैको ८ हजार प्रति ? तर, प्रकाशकलाई भरोसा थियो कि, ४÷६ महिनामै सबै किताब बिक्छ । उसको विश्वास सत्य सावित भयो । ४÷६ महिना होइन, एक हप्तामै सबै किताब बिक्री भयो । मानिसहरु भन्दछन् कि, यो उपन्यास एउटा ऐना हो, जसमा हरेक जिन्दगीको संवाद सुन्न सकिन्छ ।

–तपाईलाई लाग्दछ कि, अनुवादकको भूमिका धेरै नै कठिन हुन्छ ?

बिल्कुल । कुनै दोस्रो व्यक्तिको विचारलाई आफ्नो आवाज दिनु निकै कठिन काम हो । अनुवाद केवल भाषाको परिवर्तन मात्र होइन, त्यो त एउटा पुनर्निर्माणको प्रक्रिया पनि हो, जसमा मूल आत्मालाई बचाइराख्न धेरै ठूलो जिम्मेवारीबोध चाहिन्छ । कैयौं पटक अनुवादकहरु यही सवालमा चुक्ने गरेका छन् । भाषाका साथ भाव बदलिनु खतरनाक कुरा हो । मेरा किताबहरु ३७ भाषामा अनुवाद भएका छन् । मलाई खुसी लाग्दछ कि, मेरा किताबका अनुवादकहरुले आफ्नो जिम्मेवारी राम्ररी नै निभाएका छन् । तर, विडम्बनाको कुरा के हो भने, अनुवादको रचनात्मकताले कहिल्यै अरु विधाले जति सम्मान पाउँदैन ।

–तपाईको दिनचर्या कस्तो छ ? लेखनको बारेमा पनि केही बताइदिनुस् न ।

जहिलेदेखि मेरो पहिचान बन्यो, दिनचर्यालाई सिलसिलाबद्ध रुपमा बाँध्न कठिन भयो । तर, लेखनका लागि अनुशासन आवश्यक पर्दछ । त्यसैले म बिहान ९ देखि मध्यान्ह ३ बजेसम्म लेख्छु । त्यसपछि मानिसहरुसँग भेटघाट गर्छु । मसँग एउटा समस्या छ कि, म घरेलु वातावरणमा लेख्दछु । यात्राको समय धेरै कोसिस गर्दा पनि लेख्न सक्दिनँ ।

प्रतिक्रिया दिनुहोस्