समानुपातिकको नामावली टुंग्याउन आज एमाले स्थायी समितिको बैठक बस्दै


२७ असोज । संघ र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउन दुई दिन बाँकी रहेको बेला नेकपा (एमाले) का नेताहरु आजदेखि समानुपातिक उम्मेदवार चयन गर्न जुटेका छन् । एमाले स्थायी समितिको आजदेखि सुरु हुने बैठकले संघ र प्रदेशसभा दुवैको उम्मेदवार टुंग्याउने तयारी गरेको हो ।

समानुपातिक उम्मेदवारको नामावली टुंग्याउन बिहीबार नै एमाले स्थायी समितिको बैठक बसेको थियो । तर, उक्त बैठक शुक्रबारदेखि बस्ने गरी संक्षिप्त रुपमा टुंगिएको थियो । बैठकस्थल भने एमाले नेताहरुले गोप्य राखेका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा एमाले अध्यक्ष ओलीले समानुपातिकको समयावधि एक–दुई दिन थप्नुपर्ने कुरा उठाएका थिए । तर, निर्वाचन आयोगले भने असोज २९ गतेकै कार्यतालिकालाई पछ्याउन राजनीतिक दलहरुलाई आग्रह गरेपछि अहिले सबै दललाई समानुपातिकको नामावली टुंग्याउन भ्याइनभ्याई रहेको छ ।

नेपाली कांग्रेसले बुधबार संसदीय बोर्ड गठन गरेर बिहीबारदेखि नै समानुपातिकको नामावली टुंग्याउन प्रयत्न गरे पनि कांग्रेस बैठक बस्न सकेन । संसदीय समितिमा १५ जना रहने कांग्रेसको विधानमा उल्लेख भए पनि विधान विपरीत १७ सदस्य बनाइएको थियो । विधान विपरीत १७ सदस्यीय बनाउँदा समेत केही नेताहरु बोर्डमा नअटेका कारण असन्तुष्टि देखिएको छ । नेता डा. शेखर कोइरालालगायत बोर्डमा नपरेपछि असन्तुष्टि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्