समुन्द्री आँधीको प्रभावले नेपालमा पनि हावाहुरीसहित वर्षा


काठमाडौ, २० वैशाख । शुक्रवार हावाहुरीसहित राजधानी लगायत देशका विभिन्न भागमा पनि पानी परेको छ । भारतमा आएको समुद्री आँधी फानीको असर नेपालमा पनि पर्न गएको हो । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट आएको चक्रवात प्रणाली आज मध्यान्ह ओसिसाको तटीय क्षेत्रमा भित्रने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविदहरुको अनुमान छ । ‘चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै लेखेको छ ।
फानीको प्रभाव देशको हिमाली भेगमा पनि पर्ने लख महाशाखाले काटेको छ । महाशाखाका अनुसार, यसकाु असरले हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।
देशको पश्चिम क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।
शुक्रबार र शनिबार मौसम प्रभावित बने पनि आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदहरुले जनाएका छन् ।
यसैबीच गृह मन्त्रालयले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले सो क्षेत्रमा शुक्रबार मध्याह्नदेखि शनिबार दिनभरसम्म हेलिकप्टर उडान नगर्नरनगराउन समेत आग्रह गरेको छ। पर्यटक तथा यात्रुलाई सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ।

fani 1

प्रतिक्रिया दिनुहोस्