सरकारको गतिविधि हेर्दा केही आशा र आशंका पैदा भयोः थापा


चितवन, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन। मिडिया नेपाल चितवनले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताए ।
उनले भने, “दुई तिहार्इ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताए ।
एक फरक प्रसंगमा नेता थापाले हिन्दू राष्ट्रको विषयलाई लिएर राप्रपा सशक्त रुपमा अघि बढ्ने छ भने ।

प्रतिक्रिया दिनुहोस्