‘सरकारको जय–पराजय ठूलो कुरा होइन, अविश्वासको प्रस्ताव मेरा लागि सामान्य हो’


९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यारो कुनामा बसेर चलखेल गर्नेका सामू कहिल्यै नझुक्ने दाबी गरेका छन् । आफूमाथिको अविश्वासको प्रस्ताव दर्ता गर्ने दल नेपाली कांग्रेस र माओवादीप्रति संकेत गर्दै उनले व्यवस्थापिका संसदमा यस्तो दाबी गरेका हुन् ।

उनले संसदमा सम्वोधन गर्दै भने– ‘संसदलाई नै सरकार गठन–विघटनको थलो बनाउनु पर्छ भन्ने मेरो मान्यता छ । यो अविश्वासको प्रस्ताव मेरा लागि सामान्य हो । तर, परिस्थितिलाई हेर्दा यो असामान्य हो ।’ उनले संसदीय प्रणालीको विश्वास नगर्नेहरुले पनि अहिले यसलाई विश्वास गरेको भन्दै धन्यवाद पनि दिए । ‘लामो समय विरोधमा रहनु भएका साथीहरु पनि यो प्रक्रियामा सहभागी हुनुभएको छ, म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘सरकारको जय–पराजय ठूलो कुरा होइन ।

तर, माननीय सदस्यहरुले यस्तो कुस्ती गरिदिनुभएकोमा म धन्यवाद दिन चाहन्छु । अध्यारो कुनामा भएका चलखेलको म विरोध गर्छु । मुलुकलाई सधैँ अस्थिरता चाहने र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिका व्यक्तिहरु अहिले सलबलाएका छन् । त्यो प्रवृत्तिले देशलाई गम्भीर समस्यामा लैजाने कुराले मलाई चिन्तित बनाएको छ ।’

प्रधानमन्त्री ओलीले अनेकौ प्रतिकुलतालाई चिर्दै नेपालको संविधान जारी गरेको स्मरण गर्दै त्यसको कार्यान्वनका लागि पनि सहकार्य आवश्यक भएको भन्दै यस्तो बेलामा गरिएको यो प्रक्रिया गलत भएको पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्