सरकारको तयारीमा दलहरूको दबाबमूलक साथ


काठमाडौं, २९ फागुन । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरिरहेको तयारीमा राजनीतिक दलले दबाबमूलक साथ दिएका छन् ।

सरकारले गठन गरेको उच्चस्तरीय समितिले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले थप सजगताका लागि प्रभावकारी कदम चाल्न सुझाव दिएका छन् ।

जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाई अघि बढ्नुनपर्ने सुझाव दलहरूको छ । नेताहरूले कोरोना संक्रमण बारेको सूचना सम्प्रेषण, अस्पतालमा गर्नुपर्ने तयारी, हवाई र स्थलमार्गमा अपनाउनुपर्ने सावधानी, विदेशबाट आएका नागरिकको ट्रेस, प्रभावित बन्दै गएको मुलुकको अर्थव्यवस्थालाई गर्नुपर्ने सम्बोधनलाई एकीकृत कार्ययोजनामार्फत सम्बोधन गर्न सुझाव दिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार सम्पूर्ण राष्ट्रिय शक्ति लगाएर भए पनि रोकथाममा लाग्नुपर्ने र त्यसका लागि सरकारलाई सहयोग गर्ने धारणा नेताहरुको थियो ।

‘बैठकमा नेताहरूले कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा आफ्ना कुरा राख्नुभयो’, श्रेष्ठले भने, ‘सिंगो राष्ट्रिय शक्ति लगाएर सजगता अपनाउनुपर्नेमा बैठकमा नेताहरूको समान धारणा थियो ।’

नेताहरूले खाद्य आपूर्ति सहज बनाउन, कालोबजारी हुन नदिन र प्रभावित देशमा आवतजावन बन्द गर्न सुझाव दिएका थिए । कांग्रेस नेता गगन थापाले हवाईमार्गबाट आउने अति संक्रमित र जोखिमका देशहरूबाट आएकालाई रोग नभएको प्रमाणपत्र मात्रै आधार नमानेर कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन सुझाव दिएको बताए ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा समिति संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए ।

त्यस्तै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेसका गगन थापा, बालकृष्ण खाण, राजपा नेताहरू राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

बैठकमा स्वास्थ्यमन्त्री ढकालले सरकारले रोकथाम नियन्त्रणका लागि गरेका तयारीबारे कार्ययोजना पेस गरेका थिए । उनले कोरोना भाइरस संक्रमणबाट जोगिन सक्षम रहेको सन्देश विश्वभर पुगेको जानकारी गराएका थिए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्