सरकारको विशेष योजना-घरघरमा खानेपानीको सुविधा 


काठमाडौँ, २६ भदौ । “के तपाईँलाई बिहान उठ्ने बित्तिकै खानेपानी लिन घण्टौँ हिँडेर जानुपर्ने बाध्यताले सधैँ सताई रहन्छ रु अब चिन्ता नगर्नुस्, सरकारले पानी भर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवारलाई विशेष व्यवस्था गर्ने भएको छ ।”

खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण सङ्कलन अभियान शुरु गरेको छ । यकिन विवरण सङ्कलन गरेपछि उक्त समस्या समाधानका लागि नयाँ योजना बनाउने मन्त्रालयको तयारी छ ।

खानेपानीमन्त्री बीना मगरले खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउने उद्देश्यले विवरण सङ्कलन थालिएको बताईन । उनले भनिन्, “खानेपानी लिन विशेष गरी गृहिणी महिला घण्टौँसम्म हिँड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसैका आधारमा हामी नयाँ योजनाहरु बनाउँ छौँ ।”

मन्त्रालयले एक हप्ताभित्र उक्त विवरण पठाउन देशभरका घर परिवार, सामाजिक सङ्घ संस्था र स्थानीय तहलाई अनुरोधसमेत गरेको छ । खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्री नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निःशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले आधारभूत खानेपानीको पहुँच पु¥याउन तय गरिएको योजनाको सफल कार्यान्वयनका लागि मङ्गलबार सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सचिवसँग छलफलसमेत गरेको छ । सो अवसरमा मन्त्री मगरले सङ्घ र प्रदेश सरकारबीच कुनै असमझदारी नहुने गरी खानेपानीका योजना अघि बढाइने बताईन । उनले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ खानेपानी उपलब्ध गराउन ठूलो चुनौती औँल्याइन् ।

प्रतिक्रिया दिनुहोस्